अब 'डबल बेड' सहितको रात्रिबस :

काठमाडौं, भदौ १- रात्री बस सेवालाई सुविधाजनक बनाउने उद्देश्यले नेपालमै पहिलोपटक अल्पाइन ट्राभल्स्ले नौ वटा 'डबल बेड'सहितको यात्रुबस भित्र्याएको छ। 'नाइट स्लिपर' नामक उक्त बस यसै साता यातायात व्यवस्था विभाग पुर्‍याइए पनि सञ्चालन स्वीकृतिका लागि नीतिगत निर्णय आवश्यक हुने विभागले जनाएको छ।

तल र माथि झ्याल भएको र झट्ट हेर्दा दुई तल्लेजस्तै देखिने उक्त बसमा
४० वटा सामान्य सिट र त्यसको माथिपट्टी ९ वटा 'डबल बेड' छ। भारतको टाटा कम्पनीद्वारा निर्मित उक्त बसको मूल्य लगभग साढे ४७ लाखरुपैयाँ रहेको विभागले जनाएको छ।
विभागले आफ्ना प्राविधिकहरू राखेर सल्लाघारीदेखि भक्तपुरको सडकमा उक्त बसको प्राविधिक परीक्षण गरेको थियो।

'म आफैं सुतेर भक्तपुरसम्म गएँ,' विभागका इञ्जिनीयर मोहन भट्टराईले भने, 'तर दुई जना सुत्दा चाहिँ साँघुरो हुन्छ।' सामान्यभन्दा अग्लो उक्त बस मोडिँदा तथा ब्रेक लगाइँदा भने यात्रु लड्ने र चोटपटक लाग्ने डर रहेको उनले बताए।

'यस्तो बसबारे हाम्रो ऐन कानुनमा उल्लेख नभएकाले के गर्ने भन्ने छलफल भइरहेको छ', यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक शरद अधिकारीले नागरिकसँग भने, 'सबै कुराले चित्त बुझे नीतिगत निर्णय गरेर सर्तसहित स्वीकृति दिने छौं।'

'उक्त सिटमा दुई जना सुत्न मिल्ने भएकाले समस्या देखिन सक्छ,' उनले भने, 'दुई अपरिचित व्यक्ति भए सँगै सुत्‍न नमान्ने हुनसक्छ।' बस सञ्चालकले ती 'डबल बेड'का लागि छुट्टै शुल्क लिने अथवा साधारण ४० सिटकै यात्रुले त्यो प्रयोग गर्नेबारे समेत स्पष्ट हुनुपर्ने अधिकारीले बताए। गाडी मोड्दा अथवा ब्रेक लगाउँदा सुतेको यात्रुलाई चोटपटक लाग्ने सम्भावना र त्यसको क्षतिपूर्तिबारे समेत छलफल आवश्यक रहेको उनले बताए।
यस्ता केही विषयमा स्पष्ट भए नीतिगत निर्णय गरेर शर्तसहित सञ्चालन अनुमति दिन सकिने उनले बताए। व्यवसायीले उक्त बस काठमाडौं-वीरगञ्ज रुटमा चलाउन अनुमति मागेका छन्।

'कालो नम्बर प्लेटको भएकाले सरकारले तोकेको मापदण्डअनुसार हुनुपर्छ,' अधिकारीले भने, 'त्यहीअनुसार रुट परमिट र भाडा दर तोकिने भएकाले समस्या भएको हो।'


सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ ले सावजनिक सवारी साधनबारे मापदण्ड तोकेको छ। त्यस्तै डिलक्स गाडीलाई छुट्टै मापदण्डसमेत छ। तर त्यसले पनि यसलाई समेट्न नसक्ने विभागले जनाएको छ।

'त्यसमा मापदण्ड तोकिएको छ,' यातायात व्यवस्था विभागका निर्देशक अनिल गुरुङले भने, 'डिलक्स गाडीले तोकिएभन्दा २० प्रतिशतसम्म बढी भाडा उठाउन पाउँछन्।' डिलक्स गाडीमा झ्यालमा पर्दा, टिभी (डेकसहित), आरामदायी सिट र सिट क्षमता ३२ मात्र हुनुपर्ने प्रावधान छ।

source:nagarik