अमेरिकामा पहिलो नेपाली मन्दिरका लागि पुराण :

न्यूयोर्क, श्रावण १९ - यहाँको नेपाली समुदाय दुर्गा मन्दिर तथा सांस्कृतिक केन्द्रको निर्माणमा जुटेको छ । यो नेपालीले बनाउने अमेरिकी भूमीको पहिलो हिन्दू मन्दिर
हुनेछ । अमेरिकामा भारतीयहरुको सक्रियतामा बनेका मन्दिरहरु धेरै र भव्य छन् । नेपाली मन्दिर निर्माणका लागि यहि सोमबारबाट श्रीमद् भागवत सप्ताह महापुराण लगाइँदैछ । त्यसका लागि पं. दिनबन्धु पोखरेल आउँदैछन् ।
न्यूयोर्कको रिजउड क्षेत्रमा बस्ने नेपालीको 'रिजउड नेप्लीज सोसाइटी' ले उक्त मन्दिर बनाउन लागेको हो । मन्दिर बनाउन २० लाख अमेरिकी डलर लाग्ने अनुमान छ । सोसाइटीको गत वैशाखको साधारण सभाले १ लाख २५ हजार उठाइसकेको छ भने न्यूयोर्क सिटिले ४ लाख ५० लाख अमेरिकी डलर दिने भएको छ । पुराणबाट करिब ५ लाख डलर उठ्ने अनुमान गरिएको सोसाइटी अध्यक्ष श्रीप्रसाद पराजुलीले बताए । बाँकी रकम यहाँका विभिन्न संस्थाले निब्र्याजी दिलाउने भएका छन् ।
प्यागोडा शैलीको उक्त मन्दिरको नक्शा इन्जिनियर प्रशान्त भट्टराईले तयार पारिसकेका छन् । दुई तले उक्त मन्दिरको पहिलो तलामा विभिन्न कार्यक्रम गर्न सकिने हल हुनेछ भने दोस्रो तलामा मन्दिर, सोसाइटीको कार्यालय, यहाँ जन्मेका बालबालिकालाई नेपाल चिनाउने कक्षा र सानो पुस्तकालय रहने पराजुलीले बताए । मन्दिरको भेटी, हलको भाडा आदिबाट ऋण तिर्दै जाने सोसाइटीले योजना बनाएको छ ।

source:kantipur