काठमाडौँ, साउन ३०- माओवादी नेता पोष्टबहादुर बोगटीले राष्ट्रिय स्वाधीनताका लागि पूर्व राजा वा
राजावादीसँग कुराकानी हुनु स्वाभाविक भएको बताएका छन्। माओवादीले 'सांस्कृतिक राजा' मान्न सक्ने भन्ने चर्चाका सन्दर्भमा सोधिएको प्रश्नमा उनले त्यस्तो निर्णय भने पार्टीले नगरेको पनि बताए।
एकीकृत नेकपा (माओवादी) का सचिवसमेत रहेका बोगटीले ठूलो दल हुनुका नाताले सरकारको नेतृत्व आफूले दाबी गरेको र राष्ट्रिय सहमति हुने भएमा अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी फिर्ता लिने जानकारी पनि दिए। त्यसका लागि संविधान वा संसद्को नियमावली संशोधन गर्न सकिने उनको भनाइ थियो।
सेना समायोजनका लागि तत्कालै सङ्ख्या तोक्न नसकिने भन्दै नेता बोगटीले यथास्थितिवादी शक्तिले देशमा अराजकता ल्याउन समायोजनमा खोचे थापेको आरोप लगाए।
प्रमुख राजनीतिक दलका नेताहरूले प्रधान मन्त्रीको चालू निर्वाचनको प्रक्रियालाई उपयुक्त विकल्पका माध्यमबाट अन्त्य गराइ राष्ट्रिय सहमति निर्माण गर्न सकिने बताएका थिए। तर नेताहरूले आ–आफ्ना दलका अडानलाई भने कायमै राखेका छन्।
आगामी भदौ २ गते हुने पाँचौं पटकको प्रधान मन्त्रीको निर्वाचनमा पनि कुनै पनि उम्मेदवारले विजय हासिल गर्ने सम्भावना नरहेको सन्दर्भमा आज रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा नेपाली काँग्रेस र नेकपा (एमाले) का नेताहरूले सेना र हतियारको व्यवस्थापन गरी नागरिक पार्टी नबनेसम्म माओवादीको नेतृत्व स्वीकार नगर्ने बताएका छन्।
कार्यक्रममा नेपाली काँग्रेसका नेता डा रामशरण महतले लामो समयको सरकारविहीन अवस्थाबाट आर्थिक र प्रशासनिक जटिलता उत्पन्न भएकोप्रति चिन्ता प्रकट गर्दै सहमतिको विकल्प तयार नभइकन प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा गराइएका कारण समस्या बल्झिएको बताए।
नेता महतले काँग्रेसले आफ्ना उपसभापति रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिनुपर्ने प्रस्ताव नेकपा (एमाले) बाट आएको भए पनि विवादित मुद्दामा सहमति वा राष्ट्रिय सरकारको विकल्प तयार नभएसम्म हचुवाको भरमा फिर्ता नलिने अडान व्यक्त गरे।
लोकतान्त्रिक मधेसी मोर्चाका मागमा आफूहरू धेरैजसोमा सहमत भएको तर आत्मनिर्णय र सेनामा मधेसी समुदायको पहिचानबारेको बुझाइ फरक रहेको जनाए।
नेता डा महतले काँग्रेसले व्यक्तिको आत्मनिर्णयको अधिकारलाई मान्न सक्ने र प्रान्तलाई स्वशासनको अधिकार दिँदा मधेसीको भावनाको सम्बोधन हुने उल्लेख गरे। नेपाली सेनामा कुनै बटालियन बनाएर पहिचान दिन सकिने उनको कथन थियो।
नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामचन्द्र झाले दाहाल र पौडेलले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिइ राष्ट्रिय सहमतिको बाटोमा आउने आशा व्यक्त गरे।
उनले काँग्रेसले ३०१ को बहुमत पुर्याउने निश्चित भएमा एमालेले उसलाई मत दिएर दुई तिहाइको सरकार बन्न सक्ने बताए।
लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध नेपाल सद्भावना पार्टीका नेता तथा बिनाविभागीय मन्त्री लक्ष्मणलाल कर्णले आफूहरूको अवधारणामा प्रतिवद्ध हुने दललाई मत हाल्ने अडान कायमै रहेको बताए।
लोकतान्त्रिक पार्टी भएकाले काँग्रेससँग धेरै कुरा मिल्ने देखिए पनि आत्मनिर्णयको अधिकार, सेनामा मधेसीको सामूहिक प्रवेश र राज्य पुनःसंरचना आयोग गठनका लागि तीन दलसँग भएको सहमतिको खारेजीमा काँग्रेस प्रष्ट नभएको बताएका थिए।
उनले मोर्चाले गठन गरेको कार्यदलको प्रतिवेदन आएपछि भदौ २ गते अगाडि बैठक बस्ने जानकारी दिए।
source:nagarik