काठमाडौ, श्रावण १९ - बर्दियास्थित राष्ट्रिय वाणिज्य बैंकको गुलरिया शाखाबाट ९० लाख रुपैयाँ हराएको छ । एकजना कर्मचारीले
कोक्षबाट रकम झिेकर बेपत्ता भएको आशंकामा छानबिन सुरु भएको छ ।
हराएपछि अनुसन्धानको दायरमा परेका बैंकका प्रबन्धक अनिलकुमार मल्लले खजान्ची प्रेमबहादुर सोडारीले रकम लगेर फरार भएको आरोप लगाएका छन् । बैंकको आन्तरिक लेखा परीक्षक तथा सहायक लेखाअधिकृत रामचन्द्र जिसीको टोलीले कोष छानबिन गर्ने क्रममा ९० लाख गायब भएको फेला परेको हो । रुपैयाँ गायब भएकोबारे बैंकले साउन १६ गते थाहा पाएको जनाएको छ । तीन दिनसम्म घटनालाई बैंकले गोप्य राखेको थियो ।
रुपैयाँ लिएर बेपत्ता भएका खजान्ची सोडारीको खोजीका लागि बैंकले प्रहरीमा जाहेरी दिएको छ । बैंकले प्रहरीलाई रुपैयाँ हराएको वा चोरी भएको भन्ने कुनै जानकारी दिएको छैन । प्रहरी उपरीक्षक सूर्य उपाध्यायले भने, 'खजान्चीको खोजी गरी गरी उपस्थित गराउन मात्र भनेको छ ।'
लेखापरीक्षक आएपछि सोडारी खाना खाने निहुँमा बैंकबाट बाहिरिएका थिए । उनी चार दिनदेखि बैंकको सम्पर्कमा छैनन् । उपाध्यायले सोडारीको खोजी भइरहेको बताए ।
बैंक प्रबन्धक मल्लले दुई चरणमा रुपैयाँ गायब भएको जानकारी दिए । 'असार ३२ देखि साउन १६ गतेभित्र कोषबाट रकम गायब भएको हुन सक्छ,' उनले भने । बैंक प्रबन्धक मल्ल साउन ७ गतेदेखि बिदामा बसेको मौका छोपेर रकम गायब भएको छ ।
उक्त अवधिमा सुदिलकुमार राई निमित्त प्रबन्धक थिए । राईले सोडारी लेखापरीक्षक आएकै दिनदेखि बैंक सम्पर्कमा नभएको बताए । पैसा लिएर हिँडेका सोडारीको निजी खातामा समेत रकम देखिएको छैन । उक्त बैंकमा साउन ९ गते राष्ट्र बैंक नेपालगन्ज शाखाबाट ल्याएर १२ करोड रुपैयाँ जम्मा गरिएको थियो । यसअघि बैंकको खातामा २ करोड ९० लाख मौजदात थियो । कोषको रकम अन्य कर्मचारीकै मिलेमतोमा गायब भएको हुन नसक्ने अनुमान छ । मल्लले खजान्ची सोडारीबाहेक अरूले रकम नलगेको दाबी गरेका छन् ।
पारिवारिक स्रोतले बैंकका कर्मचारीले सोडारीलाई फसाएको आरोप लगाएका छन् । रुपैयाँ हराएपछि खजान्चीको चल अचल सम्पत्ति रोक्का गर्न बैंकको विभागले निर्देशन दिएको छ । मल्ललाई छानबिन र सोधपुछका लागि नेपालगन्ज झिकाएको छ । अनुसन्धानको दायरामा परेकाले मल्लको स्थानमा मंगलबारदेखि गोविन्दबहादुर अधिकारीलाई काजमा खटाइएको छ ।
source:kantipur