चितवन, असोज ८- बाघ, गैंडाजस्ता दुर्लभ वन्यजन्तु हेर्न आएका देशी-विदेशी पर्यटक बस्ने होटल छन्। तिनै पर्यटक बस्ने एउटा होटलमा बिहीबार जंगली बाघले
सात घन्टा बितायो। 'भाग्यले भेटिने' बाघ होटलमै आएपछि धेरैजसो पर्यटकले जंगल यात्रै रद्द गरे। निकुञ्जले बाघ नलग्दासम्म रमितेको भीड लाग्यो। बाघ होटल पार्क साइडको कम्पाउन्डभित्रको झाडीमा बसेको थियो।
'बिहान साढे ५ बजे उठ्दा एक्कासी बिरालो कराएजस्तो आवाज आयो,' होटलको पर्खालसँगै घर जोडिएकी प्रमिला पाण्डेले भनिन्, 'माथि गएर हेरेको त अजंगको बाघ रहेछ, केही बेर यताउता कराएर झाडीमा बस्यो।'
निकुञ्ज कर्मचारीले बिहान ९ बजे आसपास क्षेत्रमा सेतो कपडाको घेरा बनाए। बाघले सेतो कपडाको घेरा ननाघ्ने र बस्तीमा पसेर बितण्डा नगर्ने त्यसको आनीबानीबारे जानकारी राख्ने विष्णु लामाले बताए।
निकुञ्ज मुख्यालय कसराबाट १० बजे मात्र टोली आएको थियो। 'बाघ अलि अशक्तजस्तो लागेर जंगलमा लखेट्न उपयुक्त देखेनौं,' सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले भने, 'त्यसकारण लठ्याएर (डार्ट) अशक्त भए उपचार गरेर छाड्ने निधो गरेका हौं।'
पर्यटक र स्थानीयसमेत अग्ला घरमा बसेर बाघ हेर्न बसेका थिए। अधिकांशले डिजिटल क्यामरादेखि मोबाइल फोन चलाए। तर, बाघको आधा शरीर झाडीमा बिलाएको थियो।
भीडभाडका कारण निकुञ्ज कर्मचारीले माइकबाटै परपर जान आग्रह गर्नुपरेको थियो। 'सौराहाका धेरै घरमा आज बिहान भात पाकेन। बच्चाबच्ची स्कुल जान पाएनन्,' बाघ पसेको पार्क साइड होटलका कर्मचारी राधा श्रेष्ठले भने, 'सबै होटलमै झुम्मिएका थिए।'
बिहीबार मध्याह्न मात्र निकुञ्ज टोलीले बाघलाई लठ्याएर नियन्त्रणमा लिएको थियो। 'तीन वर्षजतिको भाले बाघको गर्धन र अगाडिका खुट्टामा थुप्रै घाउ भेटियो,' पौडेलले भने, 'अब कसरा खोरमा राखी निको भएपछि मात्र छाड्छौं।'
source:nagarik