बस ड्राइभरलाई भेरीमा फालिएको आशंका :

सुर्खेत, भाद्र २९ - बसले बालिका किचिएर मृत्यु भएपछि आक्रोसित भीडले कुटपिट गरेपछि चालक
बेपत्ता भएका छन् । बालिकाको मृत्युपछि आक्रोशित गाउँलेले ना ३ ख ६६५१ नम्बर वसका चालक वकिल बुढाथोकीलाई कुटपिट गरेपछि उनी बेपत्ता भएका हुन् ।
आइतवार सुर्खेत राकम-२ गजौडामा बस रोकिराखेको अबस्थामा बालिका बसमुनि पसेको थाहा नपाई गाडी चलाउन खोज्दा राकम-१ की तीन वर्षिया बालिका इन्दिरा विसीको किचिएर मृत्यु भएको थियो ।
आइतबार दिउँसो साढे तीन वजे बालिकाको किचेर मृत्यु भएपछि मृतकका आफन्तले समितिसँग कुरा नगरी वीरेन्द्रनगर ल्याउन नदिएपछि सोमबार मात्रै साढे ६ लाख क्षतिपूर्ति दिने मौखिक सहमति भएर बालिकाको शव वीरेन्द्रनगर ल्याउन लाग्दा चालकलाई कुटेर भेरीमा बगाएको चर्चा पनि सुचिएको सुर्खेतका प्रहरी उपरिक्षक राजु मानन्धरले बताए ।
सोमबार विहानसम्म चालक फरार भएको हुन सक्ने अनुमान गरेको प्रहरीले अहिले दुई थरीको कुरा आएको जनाएको छ । 'चालकलाई कुटेर भेरी नदीमा बगाएको एकथरीको भनाई छ तर कुट्ने र भेरीमा बगाएको देख्ने मान्छे कोही छैन्,' प्रहरी उपरिक्षक मानन्धरले कान्तिपुरलाई भने ।
कुटपिटपछि भेरी नदीमा बगाइएको भनिएका चालक बुढाथोकी अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनको खोजि गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हरि वलीको नेतृत्वमा टोली खटाइएको छ । मृतक इन्द्रा पोष्टमार्टका लागि वीरेन्द्रनगर स्थित सुर्खेत क्षेत्रीय अस्पताल कालागाउँमा ल्याइएको प्रहरीले जनाएको छ ।
सुर्खेतको राकममा बस चालक वकिल बुढाथोकीको सोमवार हत्या गरिएको भन्ने विरोधमा मंगलबार दिउँसोसम्म यातायात मजदुर संघले यातायात बन्दको गरेको थियो । बन्दका कारण नेपालगन्जबाट सुर्खेत, दैलेख, जाजरकोट र सल्यान सल्लीबजारका लागि चल्ने सम्पूर्ण यातायातका साधानहरु प्रभावित भएका थिए ।
वसका सहयोगी भने प्रहरीको सम्पर्कमा आएको तर उनीहरुले पनि चालकको सम्बन्धमा स्पष्ट नबताएको प्रहरी उपरिक्षक मानन्धरले बताएका छन् । उनले अहिले केही भन्ने अवस्थामा छैन्, यो अनुशन्धानकै क्रममा रहेको छ ।

source:kantipur