रुपैयाँ ६ महिनायताकै बलियो:

काठमाडौ, आश्विन १३ - नेपाली रुपैयाँ अमेरिकी डलरसँग ६ महिनायताकै सबैभन्दा बलियो भएको छ । मंगलबार
१ डलर ७१ देखि ७२ रुपैयाँको बीचमा किनबेच भयो । राष्ट्र बैंकका अनुसार मंगलबार डलरको खरिददर ७१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ७२ रुपैयाँ ५४ पैसा थियो ।  यसअघि चैत अन्तिम साता १ अमेरिकी डलरको मूल्य ७० देखि ७१ रुपैयाँको बीचमा थियो ।
चैतअघिको न्यूनतम कारोबार दर २०६५ भदौमा  थियो । त्यसबेला अमेरिकी डलरसँगको विनिमय दर ७० रुपैयाँ थियो । २०६५ चैतमा भने डलर हालसम्मकै बलियो विन्दुमा पुगेको थियो । त्यसबेला १ डलर बराबर ८२ रुपैयाँ ५५ पैसा पुगेको थियो ।
भारतीय मुद्रा डलरसँग बलियो भएपछि नेपाली रुपैयाँ पनि अधिमूल्यन भएको हो । भारतीय मुद्रासँग रुपैयाँ स्थिर भएकाले स्वतः नेपाली मुद्रा पनि महँगिएको हो । डलर कमजोर हुँदा उपभोक्ताले आयातित वस्तु सस्तोमा पाउने अवस्था हुन्छ । तर नेपाली बजार सन्तुलित रूपमा चल्न नसक्ने हुँदा यसको लाभ पाउने सम्भावना न्यून छ ।

source:kantipur