राजाको मर्सिडिज बेञ्ज सर्वसाधारणले चढ्न पाउने :

काठमाडौँ, असोज ३ - मुलुक गणतन्त्रमा गइसकेपछि राजपरिवार बस्ने गरेको नारायणहिटी दरबार अहिले
संग्रहालयमा परिणत भइसकेको छ। अब तत्कालीन राजा कै एउटा मर्सिडिज बेञ्ज कार सर्वसाधारणले समेत चढ्न पाउने भएका छन्।

यो चानचुने कार भने हैन। तत्कालीन राजा त्रिभुवनलाई यो कार जर्मन नाजी नेता एडोल्फ हिटलरले सन् १९३९ मा उपहार दिएका थिए। दरबार कै ग्यारेजमा यो कार वर्षौँ थन्किएको थियो।

ढोका, सिट र हुड बिग्रिएको यो कारलाई मर्मत गरेर नारायणहिटी अवलोकन गर्न आउने पर्यटकहरुलाई घुमाउने योजना संस्कृति मन्त्रालयले बनाएको छ। कारको साथै त्रिभुवनले प्रयोग गर्ने एउटा रथ पनि मर्मत गरेर अवलोकनकर्ताहरुलाई चढाउने योजना छ।

'यसले पर्यटकहरुमा आकर्षण थप्छ र उनीहरुले राजनीतिक परिवर्तन अनुभूत गर्न सक्छन्', संस्कृति मन्त्रालयका सचिव मोदराज डोटेलले रोयटर्सलाई बताए।

source:nagarik