मन्दिरका बोका हराए :

ललितपुर, आश्विन ११ - खोकनाको रुद्रायणी मन्दिरमा पालिएका बोका हराउन थालेका छन् ।
दसैको सुरुवातसँगै गाउँतिर खसीबोकाको किनमेल बढ्दै गर्दा मन्दिरका नाममा खुला छाडिएका बोका हराउने क्रम बढेको स्थानीयवासीले बताए ।
रुद्रायणी मन्दिरको गुठीका सदस्य बेखनर महर्जनले करिव एक साताको अवधिमा बीस बोका हराएको बताए । मन्दिरमा भाकल गर्ने भक्तालुले बोका र बाख्रा दुवै छाड्ने गरेका छन् । 'करिव एक सय बोका, बाख्रा मुन्तिर परिसरमा थिए' उनले कान्तिपुरसित भने, 'अहिले मोटा र ठूला बोका हराएका छन् ।'
भाकल गर्ने र विभिन्न मनोकांक्षा पूरा होस् भन्ने श्रद्धालुले मन्दिरमा बोका चढाउने गरेको खोकना गाविसका सहायक सचिव शेरबहादुर महर्जनले बताए । यसरी चढाइएका बोका प्रायः सयभन्दा बढी हुने गरेको रुद्रायणी गुठीघरका हेरबहादुर महर्जनले बताए । यीमध्ये करिव ७० बोकाको रेखदेख गुठीघरले नै गर्दछ भने बाँकी मन्दिर वरपर चर्ने र बस्ने गर्दछन् ।
खोकनाको रहनसहनबारे जानकार गाउँ बाहिरको व्यक्तिले बोका चोरेको हुनसक्ने स्थानीयको भनाइ छ । 'स्थानीय बासिन्दाले धार्मिक आस्थाका कारण पनि तलमाथि गर्दैनन्' सदस्य बेखनरले भने, 'कुनै सवारी दुर्घटनामा बोका मारिए मन्दिरमा आफै आएर क्षतिपूर्ति बुझाउने चलन छ ।' बोकाको चोरी रोक्न उनीहरूले प्रहरीलाई आग्रह गर्नुका साथै टोलस्तरमा सुरक्षागस्ती गर्ने निधोसमेत गरेका छन् ।
गुठीमा पालिएका बोका गाउँ वरपर चर्छन् । खोकनाको रुद्रायणी गुठीले गाईजात्रा, दसैं र रामनवमीका अवसरमा तिनै बोका काटी स्थानीयलाई प्रसादका रूपमा बाँड्ने गरेको छ ।

source:kantipur