उपत्यकाभित्र रहेको ठूला सहर काठमाडौं, भक्तपुर, ललितपुरमा दिनानुदिन बढिरहेको सिमेन्ट कंक्रिटको थुप्रोले हाम्रो प्राकृतिक सौन्दर्य खासगरी हरियाली विनाश हुँदै गएको छ । अब सहरमा स्वच्छ हावा पाउन पनि गाह्रो हँुदै आएको छ । पर्याप्त अक्सिजन नभई मानिस स्वस्थ भएर बाँच्न सक्तैन । अक्सिजनको प्राकृतिक मुहान रुख बिरुवा नासिंदैछन् । हरियाली मन पराउने आँखाले नानाथरीका होर्डिङ बोर्ड हेरेर टाउको दुखाउन परिरहेको छ । सहरभित्र भएका सार्वजनिक जग्गाको संरक्षण हुन नसक्दा समाजमा बलमिच्याइँ गर्ने धनीमानीका हातमा पुगेको छ । सहरभित्र बिहान बेलुका निस्केर स्वच्छ हावा खाँदै घुम्ने बस्ने स्थानहरूको अभाव दिन प्रतिदिन बढ्दैछ ।
सुन्धारा धरहराको आसपास र वसन्तपुर दरबार क्षेत्रमा चार पाँचवटा बस्न हुने बेन्च राखिदिँदा मात्र पनि कति राम्रेा मानेका छन् बटुवा र पर्यटकहरूले । त्यस ठाउँमा बिहानदेखि बेलुकासम्म महिला वा पुरुषहरू कसैलाई पर्खेर वा फुर्सतको समय बिताउन आरामले बस्न पाएका छन् । यस्ता बस्न सुविधा हुने आरामदायी अझ टेबलसहितको बेन्च सहरको सार्वजनिक थलोहरूमा रहनु आजको आवश्यकता हो ।
सिमेन्ट, कंक्रिट र कालोपत्रको तापले उजाड बनेको हाम्रो सहरलाई हरियाली वातावरणमा फर्काउन सहरभित्रका सडकको दायाँ बायाँ फुटपाथका छेउमा रुख रोपेर हरियाली कायम गर्न सकिन्छ । विकसित मुलुकहरूमा यस्ता कुराले ठूलो प्राथमिकता पाएका हुन्छन् । सानो रुख रोप्दा मासिनो र बढ्न धेरै समय लाग्ने भएकाले नर्सरीमा हुर्काइएका छ-सात फिटसम्मका अग्ला रुख ल्याएर जमिनमै रोप्यौं भने त्यो चाँडेा सर्छ र हुर्कन्छ । रुख रोप्दा पनि जथाभावी जातका रुख नरोपी ठाउँ हेरी कुन जातका रुख रोप्दा उपयुक्त हुन्छ तिनको पहिचान गरी रोप्नुुपर्छ । सधंै हरियाली रहने १०-१२ फिटभन्दा उचाइ नहुने दरिलो आँत भएका रुखको पहिचान गरी रोप्न सकिन्छ ।
भित्री सहरका सडकमा एक खालको र बाहिरी सडकमा ज्यादा ठूला नहुने दरिला जातका सधैं हरियाली रहने रुख रोप्ने र ठूलो भए पछि बर्सेनि त्यसको आकार प्रकार ठाउँ हेरी कस्तो राख्दा उपयुक्त हुन्छ विचार गरी बेला बेलामा काँटछाँट गरिदिनुपर्छ । प्रायः हामीकहाँ रुख रोपिन्छ, ठूलो हुन्छ, काँटछाँट गरिंदैन, कुन हाँगा कता गएको छ हेरी रुखलाई ठाउँ अनुसारको आकारमा बढ्न दिनुपर्छ । यसले गर्दा अझ सुन्दर देखिन्छ ।
रुख रोप्ने अभियान मात्र चलाउने होइन । रोपेका रुख सरे सरेनन् हेर्ने र तिनलाई पर्याप्त मलजल पनि समय समयमा दिनुपर्ने हुन्छ । त्यसैले सहर र सहर आसपासका क्षेत्रमा वृक्षरोपण गर्न त्यसको उचित संरक्षण र रेखरेख गर्ने एउटा छुटृै शाखा महानगरपालिका अन्तर्गत रहनु नितान्त आवश्यक छ । त्यहाँ रहने विज्ञहरूले एउटा गुरुयोजना नै तयार पारी सहर र आसपासका क्षेत्रलाई हरियाली सुन्दर पार्न सके पर्यटकसमेत हषिर्त हुन सक्छन् । पर्यटकहरू यहाँको फोहोर र विकृति हेर्न मात्र अमूल्य समय र पैसा खर्च गरेर आएका हुँदैनन् ।
काठमाडौं सहरभित्रका सडकका दायाँबायाँ रोपिएका रुखहरू हुर्किएपछि गाडीको धुवाँ, धुलो र वातावरण प्रदूषणले हरिया रुख पनि काला फोहोरी जस्ता देखिन सक्छन् । त्यसका लागि समय समयमा फोहोराद्वारा पानीले सफा गर्नुपर्दछ । यसो गरेमा रुखले आफ्नो चमकता दिन सक्छ ।
सहरभित्र रहेका बसपार्कहरूमा पनि कसरी हरियाली कायम गर्ने अध्ययन हुनु आवश्यक छ । बसपार्कमा पनि यात्रुहरूले आराम गर्न पाउने गरी ठाउँ ठाउँमा बस्ने बेन्चहरूको व्यवस्था हुनुपर्दछ । सार्वजनिक उपस्थिति ज्यादा हुने ठाउँहरूमा शुद्ध खानेपानीको निःशुल्क व्यवस्था गरी जनताप्रतिको राज्यले गर्ने कर्तव्य निर्वाह गर्नुपर्दछ । विकसित मुलुकहरूमा आफ्ना जनताका लागि के गर्दा सुविधा पुग्न सक्छ सोची धेरै कुरा गरिसकेको अवस्थामा हामी भने एउटा युग परिवर्तन हुँदा पनि हिजो जे छ त्यसमा केही गर्नै नखोज्नु बुद्धिमानी होइन । सहर बस्ती बाटोघाटोलाई के गर्दा आजभन्दा भोलि, भोलिभन्दा पर्सि अझ राम्रो पार्न सकिन्छ विज्ञहरूले चिन्तन मनन गर्नुपर्ने समय आइसकेको छ ।
सहरभित्रका सडकका केही चौबाटाहरूमा निजी कम्पनीहरूले नेपाली कला संस्कृति झल्कने गरी हरियाली बनाउने प्रयत्न भएको देखिन्छ । यस्ता कुरामा निश्चय पनि विभिन्न सङ्घसंस्था क्लब व्यक्तिहरूको समेत सहभागिता हुनु राम्रो कुरा हो तर आफ्नो विज्ञापन मात्र गर्ने त्यस ठाउँलाई समय समयमा मर्मत सम्भार र हरियाली कायम नगर्नेहरूको विज्ञापनमात्र राख्न दिनु उचित हुँदैन । आज सहरका कतिपय ठाउँमा यस्तै देखिन्छ । विज्ञापनको लोगो छ तर त्यहाँ भत्किएका बिगि्रएका संरचनाको मर्मत सम्भार नभई झन् कुरूप देखिन गएको छ ।
सहरलाई हरियाली पार्ने कुरा समय समयमा भेल बाढीको रूपमा सुन्न पढ्न पाइन्छ । केही गर्न खोजिन्छ पनि तर त्यसको दीर्घकालीन सोच हुँदैन । निरन्तर रेखदेख अनुगमन हुँदैन । अहिलेको सबैभन्दा जटिल समस्या नै यही हो ।
हामीले मनाउन गइरहेको पर्यटन वर्ष २०११ आउन अब धेरै बाँकी छैन । पर्यटन वर्ष मनाउने भनेर घोषणा त धुमधामसँग भयो तर खोइ तिनको अनुभूति पर्यटक र जनताले पाएको । हरियाली सहर, व्यवस्थित सडक पेटीका कुरा पनि यसैसँग गाभिएर योजनाबद्ध ढङ्गले काम भए हाम्रो सहर पनि राम्रो र सफा हरियाली हुने थियो । ट्राफिक समस्या त अझ विकराल छ । त्योभन्दा पनि विकराल त झन् काठमाडौंको फोहर छ । यी सबै समस्याको समाधान अब सबै मिलेर गर्नसके हाम्रो सहर हरियाली र सुन्दर सहर देखिन्थ्यो कि ।
source:gorakhapatra