काठमाडौं, आश्विन २२ -   माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार बन्न नदिएकाले भारतीय  राजदूत 
राकेश सूदमाथि आक्रमण गरेको बताएका छन् । शान्ति, संविधान र सरकार  गठनमा हस्तक्षेप गरेकाले भारतीय राजदूत सूदमाथि आक्रमण भएको उनले बताए ।
'माओवादीले कालो मोसो दल्ने, जुत्ताको माला लगाउने पार्टीको ठोस नीति त  होइन,' रिपोर्टर्स क्लबको साक्षात्कारमा शुक्रबार उपाध्यक्ष श्रेष्ठले भने,  'तर सोलु घटना भारतको विस्तारवादी र हस्तक्षेपकारी नीतिको परिणाम हुन सक्छ  ।' 
भारतीय राजदूत सूदले कूटनीतिक मर्यादा पालना नगरेको आरोप उपाध्यक्ष  श्रेष्ठको छ । कुनै देशका कूटनीतिक अधिकारीमाथि आक्रमण गर्न केन्द्रले  निर्देशन नदिएको पनि उनले बताए । भारतीय राजदूत सुदले माओवादीलाई सोलुको  कार्यक्रमबारे जानकारी नगराएको दाबी गरे । 
यसैबीच माओवादी उपाध्यक्ष श्रेष्ठले कांग्रेसका रामचन्द्र पौडेलको कहिल्यै  नजित्ने प्रधानमन्त्री उम्मेदवारी खारेज गर्नु सभामुखको कर्तव्य भएको बताए  । 'संसद नियमावलीको बाधा अड्काउ फुकाउको विशेषाधिकार प्रयोग गर्नु  सभामुखको कर्तव्य भइसकेको छ । यसबाट सभामुख उम्कन पाउँदैनन् । उनले  विशेषाधिकार प्रयोग गर्नैपर्छ,' उनले भने ।
source:kantipur