बाग्लुङ, असोज २३- चीन सरकारले मुस्ताङ सदरमुकाम जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतसँग
सीमा जोडिएको कोरला नाकासम्म सडक जोड्न सहयोग गर्ने भएको छ। मुस्ताङ पुगेका चिनिया राजदूत क्यु गो होङले सीमा क्षेत्रसम्म सडक खन्न सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
मुस्ताङका क्रियाशील राजनीतिक दल र प्रशासनिक निकायका अधिकारीको आग्रहपछि राजदूत होङले दुई देशको सिमाना कोरला नाकामा पर्ने २४ नम्बर पिलरसम्म बाटो लैजान सहयोग गर्ने बताएका छन्।
जोमसोमदेखि सीमा क्षेत्रसम्म सडक खन्न सहयोग गर्ने चिनिया राजदूतले प्रतिबद्धता जनाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। 'सडक समस्यालाई देखेर राजदूतले सडक खन्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। निर्माणको प्रक्रिया भने नेपाल सरकारसँग सम्झौता भएपछि मात्र अगाडि बढ्नेछ'- ढकालले नागरिकसँग टेलिफोनमा भने।
जोमसोमदेखि मुस्ताङकै ताङ्गेसम्म जिल्ला विकास समितिको लगानीमा करिव २३ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ। ताङ्लेदेखि कोराला नाका पुर्याउन अझै करिब ४२ किलोमिटर सडक निर्माण गर्नुपर्नेछ। सडक सन्जाल नजोडिएको कारण मुस्ताङ र तिब्बतको सीमामा रहेको कोरला नेन्चुङमा रहेको भन्सार कार्यालय लामो समयदेखि बन्द छ। त्यहाँ काम गर्ने कर्मचारी सदरमुकाम जोमसोममा बस्दै आएका छन्। भन्सार नहुँदा मुस्ताङबाट तिब्बत जाने र तिब्बतबाट मुस्ताङ भित्रिने सामग्रीलाई करको दायरामा ल्याउन नसकेको प्रजिअ ढकालले बताए।
उपल्लो मुस्ताङमा रहेको दिव्यद्वीप उच्च माविको भवन उद्घाटन गरेर शुक्रबार बेलुका जोमसोम आएका होङले शनिबार जोमसोम विमानस्थलमा जिल्लामा राजनीतिक दल र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए। विमानस्थलको बिदाई कार्यक्रममा नेपाली कङ्ग्रेस मुस्ताङका सभापति सुवर्णकुमार बिष्ट, नेकपा एमालेको अध्यक्ष चन्द्रमोहन गौचन, प्रजिअ ढकाल, डिएसपी र अनुसन्धान प्रमुख पनि थिए। माओवादीका नेता भने कार्यक्रमा सहभागी थिएनन्।
दिव्यद्वीप उच्च माविलाई २२ थान कम्युटर सहयोग गर्ने घोषणा गरेका राजदूतले मुस्ताङको शिक्षा क्षेत्रको विकासमा सहयोग गर्ने चाहना रहेको राजनीतिक दलसँगसमेत प्रतिबद्धता जनाएका छन्। होङ नियमित उडानबाट शनिबार पोखरा फर्किएका छन् भने आइतबार मात्र राजधानी पुग्नेछन्।
source:nagarik