झडपमा एकसय ५० राउन्ड गोली चल्यो :

कार्तिक २ - पर्साको निर्मलबस्तीमा हिजो दिउँसो प्रहरी र गाउँलेबीच भएको झडपमा एकसय ५०
राउन्ड गोली चल्नुका साथै दुवै पक्षका गरी २० जनाभन्दा बढी घाइते भएका छन्। झडपका क्रममा करिब एकसय ५० राउन्ड गोली चलेको प्रहरीले जनाएको छ। दोहोरो गोली चल्दा १५ जना प्रहरी घाइते भएका छन्।

दसैँको नवमीका दिन वीरगन्ज-ठोरी चल्ने ना ३ ख ९४१४ नम्बरको बसको ठक्करबाट निर्मलबस्ती-६ का ५४ वर्षीय धनलाल दोङको मृत्यु भएपछि गाउँलेको नियन्त्रणमा रहेको बस र कन्डक्टर सिर्फलप्रसाद कुर्मीलाई छुटाउन गएका प्रहरी र गाउँलेबीच झडप भएको हो।
गाउँलेको नियन्त्रणमा रहेका कुर्मीलाई छुटाउन प्रहरी र गाउँलेबीच वार्ता भए पनि सहमति हुन नसकेपछि झडपको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सुजनराज भण्डारी, प्रहरी जवान मनोज ठाकुर, रेसम घर्ती, जगरनाथ यादव, इसुमिया धोवी र सुरेन्द्र यादव रहेका छन्।
वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले जानकारी दिए।
बाँकी प्रहरी समान्य उपचारपछि जिल्ला प्रहरी कार्यालय फर्किएको उपरीक्षक श्रेष्ठले बताए।
प्रहरीको गोली लागेर जिल्ला विकास समिति पर्साका पूर्वसभापति एवम् नेपाली काँग्रेसका नेता जनार्दनसिंह क्षेत्री घाइते भएका छन्। उनको दाहिने हातमा गोली लागेको छ। घाइते क्षेत्रीले समस्या समाधानका निम्ति वार्ता भइरहेको समयमा प्रहरीले एकाएक हस्तक्षेप गरेको बताए।

गाउँलेले हानेको ढुङ्गाका कारण सशस्त्र र नेपाल प्रहरीका सबै गाडीको सिसा फुटेको छ। गाउँलेहरुले घटनामा संलग्न दोषी प्रहरीमाथि कारबाहीको माग गरेका छन्।

source:nagarik