बलबहादुर केसीलाई प्रहरीको चड्कन :

काठमाडौं, १२ मंसिर - कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले प्रहरीको चड्कन खाएका छन् । केसीका समकक्षी कांग्रेस नेता डा. रामशरण महतका छोराको बिहे भोजबाट र्फकंदा
हल्ला गरेपछि केसीलाई प्रहरीले झापड हानेका हुन् ।

डा. रामशरण महतका छोराको बिहेमा विशिष्ट अतिथिका रूपमा कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी भोजमा बोलाइएका थिए । भोजमा केसीका साथ उनकी श्रीमती रिना उप्रेती पनि सहभागी थिइन् ।

साँझ ६ बजे आर्मी अफिसर्स क्लब सुन्धारामा सुरु भएको भोजमा सहभागी भएका केसी ९ बजे कमलपोखरीस्थिति प्रहरी कार्यालयअगाडि पुगेका थिए । प्रहरी कार्यालयको परिसरभित्रै छिरेर उनले वाइसिएलसँग फरक नभएको भन्दै प्रहरीलाई गाली गरेका थिए । 'तिमीहरू र वाइसिएलमा फरक केही छैन, तिमीहरू सब उस्तै हौ,' उनले भनेका थिए ।

प्रहरी परिसरमा कसैले हल्ला गरेको सुनेपछि स्थानीय ड्युटी इन्चार्ज जागे । 'हल्ला गर्ने को हो ? भाटा हान्' भन्दै उनले आदेश दिएपछि प्रहरी कार्यालयका सारा प्रहरी बाहिर निस्किए । तर पनि पूर्वमन्त्री केसीले प्रहरीलाई थर्काउन छाडेका थिएनन्, प्रहरी कार्यालयभित्रै आएर हल्ला गर्ने व्यक्ति पूर्वमन्त्री हो भन्ने प्रहरीलाई पत्तै थिएन ।

गाली सुनेर प्रहरी आक्रोशित थिए, यहीबीचमा पूर्वमन्त्री केसीले प्रहरीलाई गाली गरिरहेका थिए । मदिराको सुरमा चर्किएको गुण्डालाई तह लगाउनुपर्छ भन्दै प्रहरी जाइलागे । उनीहरूले केसीलाई कुट्न थाले । किन कुटेको भन्दै प्रश्न गर्न थालेपछि प्रहरीले बलबहादुरकी श्रीमती रिनालाई पनि एक झापड हाने ।

स्रोतका अनुसार डा. महतका छोराको बिहे भोजबाट केसीदम्पती नक्साल चारढुंगेस्थित घरमा फर्किएका थिए । तर, उनको निर्माणाधीन घरमा स्थानीय 'ट्यापे-मुन्द्रे'ले अवरोध गरेको भन्दै उनी राति नै कमलपोखरी प्रहरी कार्यालय पुगेका थिए ।

प्रहरी कार्यालयमा उनी श्रीमतीसहित मोटरसाइकलमा पुगेका थिए । 'मलाई घर बनाउन दुःख दिनेलाई तिमीहरूले कारबाही गरेनौ, तिमीहरू र वाइसिएल एउटै हौ,' उनले कार्यालयभित्र सुरुमा भनेका थिए । तर, प्रहरीलाई अपमानित गरेको, तथानाम भनेको भन्दै भित्रबाट प्रहरीहरू निस्किएर उनलाई चड्कन हानेका थिए ।

धेरै नै कुटाइ खाएपछि केसीले आफू पूर्वमन्त्री तथा कांग्रेसको केन्द्रीय सदस्य भएको बताएका थिए । उनले परिचय दिएपछि कारबाही गर्न आएका प्रहरी मात्र होइन, ड्युटी इन्चार्जसम्म डराएका थिए ।

प्रहरीहरू डराएपछि केसीदम्पतीको उत्साह बढेको थियो । 'तपाईं पूर्वमन्त्री, यो अन्याय सहेर बस्नुहुँदैन, सोर्सफोर्स लगाउनुस्, पूर्वमन्त्रीलाई पनि नचिन्ने कस्तो पुलिस' श्रीमती रिनाले आफ्नै श्रीमान्सँग प्रश्न गरेकी थिइन् ।

श्रीमती रिनाको बल पाएपछि श्रीमान् बलबहादुरले प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलाई तत्कालै फोन गरेका थिए । केसीले महानगरीय प्रहरी परिसरका प्रमुख रमेश खरेललाई पनि फोन गरे । प्रहरीले आफूलाई दुव्र्यवहार गरेको गुनासो केसीले गरेपछि महानगरीय प्रहरी परिसरका डिएसपी लालमणि आचार्य राति नै कमलपोखरी आएका थिए ।

डिएसपी आचार्य आउन्जेल केसीदम्पती कमलपोखरीमै थिए । डिएसपी आचार्यले पूर्वमन्त्रीमाथि दुव्र्यवहार गर्ने को हो भनेर तत्कालै छानबिन सुरु गरेका थिए । उनले कमलपोखरीमा खटिएका २५ जना प्रहरीलाई केसीदम्पतीका अगाडि उभ्याएर तपाईंमाथि दुव्र्यवहार गर्ने को-को हुन् भनेर पनि सोधेका थिए । केसीदम्पतीले आफूलाई चड्कन हान्ने यो हो भन्दै आठजनालाई 'पहिचान' गरेका थिए ।

'पहिचान' गरेका आठजनामाथि कारबाही हुने आश्वासन डिएसपी आचार्यले दिएपछि केसीदम्पती घर फर्किएका थिए । उनीहरू प्रहरी कार्यालयबाट घर र्फकंदा राति एक बजेको थियो ।

पूर्वमन्त्री केसीले आठजनाले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएर कारबाहीको माग गरे पनि प्रहरीले भने त्यस्तो आरोप अस्वीकार गरेको छ । 'उहाँ (बलबहादुरदम्पती) पनि केही (दारु) खाएर आउनुभएको रहेछ । हाम्रा केटाहरू पनि नयाँ थिए, त्यसैले केही दुव्र्यवहार भयो कि भनेर छानबिन भयो,' खरेलले नयाँ पत्रिकासित भने, 'तर, पूर्वमन्त्रीज्यूले भनेजस्तो प्रहरीले दुव्र्यवहार गरेको पाइएन ।'

उता पूर्वमन्त्री केसीले भने यो विषयमा चर्चा गर्न मानेनन् । 'मेरोबारेमा मात्रै उल्टा-उल्टा चर्चा किन हुन्छ ?' उनले प्रतिप्रश्न गरे ।

तर, घटना भएको अर्को बिहान उनी कांग्रेस सभापति सुशील कोइरालाको निवास पनि पुगेका थिए । उनले प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको गुनासो गरेका थिए । 'त्यस्तो (दुव्र्यवहार) भएको हो भने गम्भीरताका साथ छानबिन हुनुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ,' कोइरालाले केसीसँग भनेका थिए । तर, त्यसयता यो विषयमा स्वयं कोइरालाले पनि ध्यान दिएका छैनन् ।


source:nayapatrika