विमानस्थलमा नै जुत्ताको माला र कुटाइ :

काठमाडौं, १४ मंसिर - १६औँ एसियाली खेलकुद (एसियाड) मा मुलुकको बेइज्जत गरेको आरोपमा नेपाल
ओलम्पिक कमिटी -एनओसी) का एक पदाधिकारी त्रिभुवन विमास्थलमा नै कुटिएका छन् । एनओसी पदाधिकारीहरूको विरोध गर्न सयौँको संख्यामा विमानस्थलमा उपस्थित विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षकले एनओसीका पदाधिकारी तथा नेपाल कबड्डी संघका अध्यक्ष सुनिल राजकणिर्कारलाई पिटेनन् मात्र जुत्ताको मालासमेत लगाइदिए ।

राजकणिर्कारलाई जुत्ताको माला लगाइदिएर पिट्नुअघि प्रदर्शनकारीले चीनको ग्वान्जाउबाट सोमबार मध्यरातमा काठमाडौं आइपुगेका एनओसी अध्यक्षसहितको टोलीविरुद्ध त्रिभुवन विमानस्थलमा नाराबाजीसमेत गरेका थिए । सर्वोच्च अदालतद्वारा अवैधानिक घोषित एनओसीले १६औँ एसियाडमा गैरखेलाडीलाई सहभागी गराएको तथा ग्वान्जाउमा मुलुकको बेइज्जत हुने कार्य गरेको आरोपमा खेलाडी तथा प्रशिक्षकहरू विरोधमा उत्रिएका थिए ।

प्रदर्शनकारीले एनओसी अध्यक्ष ध्रुवबहादुर प्रधानसहित सबैलाई कालोमोसो दल्ने तथा जुत्ताको माला लगाउने योजना बनाएका थिए । तर, प्रधानको पदको सम्मान गर्दै आफूहरूले पूर्वनिर्धारित विरोध कार्यक्रममा परिवर्तन गरेको प्रदर्शनकारीले बताए । राति साढे नौ बजेतिर विमानस्थलमा भेला भएका प्रदर्शनकारीले झन्डै एक घन्टा लामो प्रतीक्षाको समयमा विरोधका अनेकौँ रणनीति पनि तय गरेका थिए ।

भिआइपी गेटबाट सबैभन्दा पहिले एनओसीले तोकेका सेभ द मिसन उमेशलाल श्रेष्ठ बाहिर निस्केका थिए, तर उनले विरोधको सामना गर्नुपरेन । श्रेष्ठ बाहिरिएको झन्डै १५ मिनेटपछि भिआइपी गेटबाटै बाहिरिएका प्रधानले भने आफूविरुद्ध चर्को नाराको सामना गर्नुपर्‍यो । प्रदर्शनकारीले उनीविरुद्ध 'ध्रुबे चोर, ओलम्पिक छोड,' 'ओलम्पिक कमिटी, मुर्दावाद' जस्ता नारा लगाएका थिए । साथै उनलाई प्रदर्शनकारीले जिम्न्यास्टिकमा किन गैरखेलाडीलाई सहभागी गराएको ? ग्वान्जाउमा किन मुलुकको बेइज्जत गराएको ? तथा तेक्वान्दो खेलका पदाधिकारीको बेइज्जत किन गरेको ? भन्ने प्रश्न सोधेका थिए ।

प्रधानले त्यस विषयमा बसेर छलफल गरौँला भनेपछि प्रदर्शनकारी झन् उत्तेजित बनेका थिए । तर, प्रदर्शनकारीले प्रधानको थप बेइज्जत नगरिकन उनलाई घर जान दिए । विमानस्थलबाट प्रधान घर हिँडेलगत्तै सामान्य गेटबाट बाहिर आएका राजकणिर्कार प्रदर्शनकारीको तारो बने । प्रदर्शनकारीको भीडमा धेरैजसो तेक्वान्दोसँग सम्बन्धित थिए । नेपाल तेक्वान्दो संघका महासचिव तथा मुख्य प्रशिक्षक दीपराज गुरुङलाई राजकणिर्कारले ग्वान्जाउमा धम्काएको आरोपमा प्रदर्शनकारी उनीमाथि खनिएका हुन् । प्रदर्शनकारीका अनुसार राजकणिर्कारले गुरुङलाई 'काठमाडौं फर्किएपछि घरबाट निकालेर पिट्ने' धम्की दिएका थिए ।

एनओसीकै कारण तेक्वान्दो संघका अध्यक्ष, महासचिव तथा प्रशिक्षकहरू ग्वान्जाउमा एक रात एथ्लेट भिलेजबाहिर सोफामा सुत्नुपरेको थियो । एनओसीले समयमा एक्रिडिएसन कार्ड नबनाइदिएका कारण उनीहरू ग्वान्जाउमा बिचल्लीमा परेका थिए । राजकणिर्कार विमानस्थलबाहिर निस्केलगत्तै प्रदर्शनकारीले 'सुनिल चोर' को नारा लगाउँदै उनलाई जुत्ताको माला लगाइदिएका थिए । विमानस्थलमा सुरक्षाकर्मीको पातलो उपस्थितिले पनि प्रदर्शनकारीलाई विरोध गर्न केही सजिलो परेको देखिन्थ्यो । राजकणिर्कारले आफ्नोबारेमा सफाइ दिने प्रयास गरिरहेकै वेलामा प्रदर्शनकारीको हुलबाट उनीमाथि हातपात गरियो ।

केहीले त उनलाई हेल्मेटले हिर्काउनसमेत भ्याए । त्यसपछि राजकणिर्कार विमानस्थलको भन्सार गेटतिर भागे भने प्रदर्शनकारीसमेत उनको पछिपछि लागे । त्यसपछि प्रहरीले पनि प्रदर्शनकारीमाथि हल्का लाठी चार्ज गरेको थियो । तर, प्रदर्शनकारीको तुलनामा प्रहरीको उपस्थिति न्यून रहेका कारण प्रहरीसमेत पछि हट्नुपर्ने अवस्था थियो । त्यसपछि केहीबेरको नाराबाजीपछि प्रदर्शनकारी तितरबितर भएका थिए ।

प्रदर्शनकारीले आफ्नो योजना अति गोप्य राखेको तथा छरिएर बसेका कारण विमानस्थलमा कुनै विरोधको कार्यक्रम हुँदै छ भन्ने भनक सुरक्षा निकायले पाउन सकेको थिएन । गत दक्षिण एसियाली खेलकुदको क्रममा अन्तर्राष्ट्रिय जगतमा नेपाली कबड्डीका प्रशिक्षकहरूको विरोध गरेको भन्दै राजकणिर्कारलाई ढाकामा नै प्रशिक्षकहरूले पिटेका थिए ।

यसअघि २००८ मा बेइजिङ ओलम्पिकमा गैरखेलाडी तथा प्रशिक्षकलाई सहभागी गराएको भन्दै खेलाडी तथा खेलकुद कर्मचारीले बेइजिङ जान लागेका तत्कालीन शिक्षा तथा खेलकुदमन्त्री प्रदीप नेपाललगायत राष्ट्रिय खेलकुद परिषद् तथा एनओसीका पदाधिाकरीविरुद्ध त्रिभुवन विमास्थलमा नै विरोध प्रदर्शन गरेका थिए ।

source:nayapatrika