गुगल डुडलमा नेपाल :

काठमाडौं, पुस ९ - इन्टरनेट संजालको विख्यात सर्च इन्जिन गुगलले आफ्नो मुखपृष्ठको डुडलमा पहिलोपटक नेपाल पनि समेटेको छ । गत वर्षको
होलीमा जारी अर्को एक डुडलले नेपाललाई थोरै प्रतिनिधित्व गराएको थियो । गुगलले विभिन्न अवसरमा फरक चित्रसहितका डुडल राख्ने गरेको छ ।
इसाई धर्मको महान चाड क्रिसमसका अवसरमा जारी पछिल्लो डुडलमा १७ चित्र छन् । तल्लो तहका चित्रमा अन्तिमबाट उल्टो गन्ती गर्दा तेस्रो चित्रमा हिमाली पृष्ठभूमीमा शेर्पा चेलीहरु देखिन्छन् । डुडलका अन्य चित्रमा सेन्ट बासिलको क्याथेड्रल, एक्रोपोलिस, बुखे दे नोयल, पियरोगी, चीनको पर्खाल, फुजी पर्वत, भारतीय नृत्य, सहारा मरुभूमी, खुर्सानी, औद, सिड्नी हार्बर, भेनिस गोन्डोलास, चिलीको अंगुरबारी, अफ्रिकन कंगा, मोरक्कोको हेन्ना बत्ती र सान्ता क्लज छन् । सबै चित्रका क्लिक गरेर गुगलमा खोज्न पनि सकिने व्यवस्था छ ।
अमेरिकामा बिहिबार ९ बजे बिहान पूर्वीय समयमा जारी यो डुडल क्रिसमस भर, करिब दुई र आधा दिन, रहनेछ । यो डुडल तयार पार्न गुगलका पाँच आर्टिस्टलाई ६ महिनाको अवधिको २ सय ५० घन्टा लागेको थियो । यस्तो प्रस्तुतिको आइडिया भने गुगलका डिजाइनर माइकल लोपेजले निकालेका हुन् ।

source:kantipur