काठमाडौं, पुस १४ - धेरैको धड्कन बनेका रक गायक ब्रयान एडम्सको काठमाडौं कन्सर्ट निश्चित भएको छ। एडम्सको कन्सर्ट आयोजना गर्ने आधिकारिक इभेन्ट व्यवस्थापन कम्पनी जेपीआर इभेन्ट्सको भिडियोमा उनले फेब्रुअरीमा नेपाल
आउने बताएका हुन्। 'तपाइँका लागि गाउन हामी फेब्रुअरीमा नेपाल आउँदैछौं', जेभीआरको भिडियोमा एडम्सले भनेका छन्। फेब्रुअरी महिनामा उनी काठमाडौं आउने तय भए पनि मिति भने खुलाइएको छैन।
भारतका सहररुमा कन्सर्ट गर्न आएको समय पारेर एडम्स नेपाल आउन लागेका हुन्। ब्रयानले फेब्रुअरी ११ देखि १६ सम्म भारतीय सहररु पुने, मुम्बइ, बेङ्ग्लोर, नयाँ दिल्ली र हैदरबादमा कन्सर्ट यात्रा गर्दैछन्।
सन् १९८० मा 'ब्रायन एडम्स' एल्बममार्फत सांगीत विश्वमा हाम्फालेका उनका 'एभ्रीथीङ आइ डु', 'प्लिज फरगिभ मी' सहितका गीतले विश्वकै संगीतप्रेमीको मन तरङ्गित पारिरहेका छन्। सन् २००८ मा स्टुडियो रेकर्ड एल्बम 'एलाभेन' निकालेपछि उनको सांगीतिक यात्रा कन्सर्टतर्फ बढ्दै गएको छ। कन्सर्टमै गाएका गीतहरुलाई रेकर्ड गरेर लाइभ एल्बम निकाल्ने प्रयोग एडम्सले गरिरहेका छन्।
धन्य ब्रायन ! स्टुडियो रेकर्डिङमै सन्तुष्ट मानेको भए काठमाडौंले हेर्न पाउने थिएन तिम्रो कन्सर्ट !!
source:nagarik