'नेपाल आउन-जान परिचयपत्र' :

काठमाडौं, पुस १० - भारतको उत्तराखण्डका मुख्यमन्त्री रमेश पोखरियालले आफ्नो प्रान्तबाट नेपाल आवतजावत गर्नेहरूलाई परिचयपत्रको व्यवस्था गर्ने बताएका छन् । 'नेपाल-भारत प्रवेशको नाका उत्तराखण्ड भएकाले परिचयपत्रको व्यवस्था यहींबाट सुरु गर्छु,' उनले भने ।
समाचार संस्था पीटीआईका अनुसार पोखरियालले छिमेकी मुलुक नेपाल, पाकिस्तान र चीनको तिब्बती क्षेत्रमा भारतविरोधी गतिविधि बढ्दै गएकाले त्यसप्रति बेलैमा सजग हुनुपर्ने पनि उल्लेख गरेका छन् ।
'भारतविरोधी गतिविधि चीन, नेपाल र पाकिस्तानमा बढिरहेको छ, जसले आगामी दिनमा हाम्रो मुलुकलाई खतरा हुनसक्छ,' उनले भने, 'नेपालमा आईएसआईको गतिविधि पनि बढिरहेको छ ।' उत्तराखण्डको सीमा चीन र नेपालसँग जोडिएकाले बढी सुरक्षा सतर्कता अपनाउनुपर्ने उल्लेख गर्दै उनले त्यसप्रति आफू सजग रहेको बताए ।
उनले आन्तरिक सुरक्षाबारे प्रधानमन्त्री मनमोहन सिंह र गृहमन्त्रीलाई जानकारी गराउने क्रममा नेपालमा चीन गतिविधि बढेको बारेसमेत बताएको उल्लेख गरेका हुन् । 'दैनिक पच्चीसदेखि तीस हजारसम्म नेपाली नाकाबाट खुला रूपमा मानिसहरूले आवतजावत गरिराखेका छन् । त्यसकारण मैले सुरक्षा खतरालाई औंल्याउँदै प्रधानमन्त्रीसँग कुरा राखेँ,' उनले भने ।
उनले तिब्बती क्षेत्रमा चीनले तीव्र गतिमा सडक निर्माण गरिरहेको जनाउँदै भारतले पनि निर्माण गर्नुपर्ने प्रधानमन्त्रीलाई अवगत गराएको बताए ।

source:kantipur