विराटनगर, पुस १५ - कांग्रेस सभापति सुशील कोइरालाले माओवादी र एमाले मिलेर सरकार गठन गरे
कांग्रेस प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले सरकार गठन गर्ने अवसर पाए प्रधानमन्त्रीमा संसदीय दलका नेता रामचन्द्र पौडेलको विकल्प नभएको बताए ।
कांग्रेसको समर्थनमा एमालेले सरकार गठन गरेको स्मरण गर्दै कोइरालाले भने, 'अहिले एमालेले कांग्रेसलाई समर्थन गरेको भए राजनीतिक संकट बढने थिएन ।' एमालेको दोहोरो नीतिकै कारण अहिलेको राजनीतिक संकट आएको कोइरालाको आरोप थियो ।
माओवादीले रामचन्द्रको सट्टा शेरबहादुर देउवालाई कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार बनाए समर्थन गर्ने संकेत प्रति कोइरालाले आफनो असन्तुष्टी जनाए । कांग्रेस कसैको बहकाईमा हिंडदैन । कोइरालाले भने, 'पार्टीको संसदीय नेतालाई नै कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार बनाउछ । कांग्रेसमा प्रधानमन्त्रीको उम्मेदवार कांग्रेसले नै छान्ने हो । अरु पार्टीले कांग्रेस भित्र उम्मेदवार छान्ने होइन ।'
राजनीतिक संकटको अन्त्य गर्न कांग्रेस, माओवादी र एमाले सहमतीमा आउनुको बिकल्प नभएको कोइरालाको भनाई थियो । तीन दल सहमतिमा पुग्ने हो भने सबै समस्याको समाधान हुन्छ । कोइरालाले भने, 'तिन दल मिलेर राजनीतिक संकटको समाधान नगरे मुलुक अफगानीस्तान जस्तो हुन धेरै समय लाग्दैन ।'
माओवादी र एमालेसँग वार्ता र मेलमिलाप गरेर समस्याको समाधान गर्न कांग्रेस तयार छ । तीनदल चाँडै सहमतिमा पुगेर राष्ट्रिय सहमतीको सरकार गठन हुने कोइरालाको भनाई थियो ।
जेठ १४ गते भित्रमा संविधान निर्माण नभए विष्फोटक हुन्छ भन्ने राजनीतिक चर्चामा उनले आफू निराशावादी नभई आशावादी भएको उल्लेख गर्दै जेठ १४ भित्रै संविधान निर्माण हुने दाबी गरे । जेठ १४ भित्रैमा संविधान बन्छ । संविधान निर्माणका लागि जेठ १४ पछि एकदिन पनि समय थपीरहनु पर्दैन । कोइरालाले संविधानका धेरैकुरा अगाडि बढि सकेका र त्यसलाई दलहरुले अन्तिम रुप दिनमात्र बाँकी भएको बताए ।
पार्टीको आन्तरीक विवादबारे बोल्न नचाहोका कोइराला शुक्रबार हुने मोरङ कांग्रेसको जिल्ला स्तरीय भेलाको उद्घाटन गर्न विराटनगर पुगेका हुन् ।
source:kantipur