राजधानीका विभिन्न स्थानमा भेला हुन, जुलुस निकाल्न, कोण सभा लगायतका गतिविधि गर्न रोक लगाएको छ। अर्को आदेश नभएसम्म 'संवेदनशील क्षेत्रमा' यस्ताखाले गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरेको छ
जिल्ला प्रशासन कार्यालय काठमाडौंको निषेधित क्षेत्र सम्वन्धि जरुरी सूचना :
काठमाडौं जिल्लाको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी मिति २०६७ साउन ३ को आदेश अनुसार काठमाडौं महानगरपालिकाका देहायका स्थानहरुमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम कायम रहेको निषेधित क्षेत्रको आदेश अर्को सूचना जारी नभएसम्मका लागि मिति २०६७ पुस १ को आदेश अनुसार यथावत रहेकाले तपसिलमा उल्लेखित निषेधित क्षेत्रमा धर्ना, जुलुस, र्याली, कोणसभा/आमसभा गर्न निषेध गरिएको व्यहोरा सर्वसाधारणका जानकारीको लागि यो सूचना जारी गरिएको छ। यस सूचनाको बर्खिलाप काम कारबाही भएमा नियमानुसार हुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ।
देहाय :
१ राष्ट्रपतिको कार्यालयको प्रवेशद्वारको उत्तर दक्षिण ५० मिटरसम्म
२ उपराष्ट्रपतिको कार्यालय अगाडि कम्पान्ड क्षेत्रमात्र
३ प्रधानमन्त्रीको निवास बालुवाटार
४ भद्रकाली मन्दिर, रिपुमर्दन पेट्रोलपम्प अगाडि सम्म
५ माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थानसम्म
६ संविधानसभा भवनको पश्चिम गेटबाट नयाँ वानेश्वर चोकसम्म
७ माइतीघर मण्डलादेखि पद्मोदय स्कुल मोडसम्म
source:nagarik