डिल्लीबजार कारागारमा 'ग्याङफाइट'

काठमाडौं, माघ ७ - डिल्लीबजार कारागारमा रहेका कैदीबीच झडप हुँदा ५ कैदी गम्भीर घाइते भएका छन् । कैदीमध्येकै जेलको
आन्तरिक प्रशासन हेर्ने चौकिदार र त्यसको विपक्षमा रहेको समूहबीच झडप भएको हो । झडपले बुधबार राति डिल्लीबजार जेल तनावग्रस्त बनेको थियो ।
लागूऔषध कारोबारमा सजाय भुक्तान गरिरहेका चौकिदार जीवन चौधरी र उनका समुहका नाइकेहरूको व्यवहारबाट असुन्तुष्ट अर्को समूहबीच झडप भएको जेल प्रशासनले जनाएको छ । जेल प्रशासनले लागूऔषध कारोबारका श्याम वर्णवाल, जलेश्वर साह र मञ्जिल गुरुङको समूहबीच झडप भएको हो । वीरगन्जबाट काठमाडौं तानिएका वर्णवालले कैद सजाय भुक्तान गर्न डेढ वर्ष मात्र बाँकी छ ।
घाइतेहरूको वीर अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा मूल नाइके दीपेन्द्र राई छन् । उनको टाउकोमा चोट लाग्नुका साथै खुट्टा भाँच्चिएको छ । लागूऔषध ओसारपसार ऐनमा कैद सजाय भुक्तान गरिरहेका राई जेलबाट रिहा हुन चार वर्ष बाँकी छ । चौधरी चौकिदार भएको ४ महिना पनि भएको छैन ।
लागूऔषध कारोबार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका महेश अधिकारीको आक्रमणबाट खुट्टा भाँच्चिएको छ । उनी नाइके हुन् । कैद सजाय भुक्तान गर्न अन्तिम फैसला भएपछि मात्र जेल प्रशासनले कैदीको आचरण हेरेर उनीहरूलाई पद दिने गर्छ तर अधिकारीको मुद्दाको अन्तिम फैसला नहुँदै उनी नाइके हुनुले जेल प्रशासनको कैदीहरूसँगको व्यवहारमा विभेद पाइएको एक अधिकृत बताउँछन् ।  
लागूऔषध कारोबार ऐनमा जेल परेका भाइ चौकिदार सञ्जय खान, जीउ मास्ने-बेच्ने अभियोगमा जेलमा रहेका हर्क सुनार पनि घाइते छन् । उनको खु्ट्टा र टाउकोमा चोट लागेको छ । लागूऔषध कारोबारमा नै जेल सजाय भुक्तान गरिरहेका दिनेश खतिवडा पनि घाइते भएको प्रहरीले जनाएको छ । झडपमा भात पकाउने चुलोमा प्रयोग हुने भाँडाहरू प्रयोग भएको थियो । 'तरकारी काट्ने चक्कु, पन्यु, डाडु र फलामका पाइप प्रयोग गरेर कुटाकुट गरेका थिए,' जेलरले भने ।
बुधबार राति २ बजे ब्लक 'ए' मा रहेका कैदी कराएका थिए । 'कुटाकुट हुन थालेपछि हामी त्यहाँ पुग्यौं' जेलर ज्ञानराज कोइरालाले भने, 'राति नै झगडा गर्ने समूहमध्ये एउटालाई बाहिर निकाल्यौं ।' दुई समूहबीच झडप भएको हो, कारण छानविन गरिरहेका छौं ।'
 'तीन महिनाअघिदेखि दुई पक्षबीच विवाद भइरहेको थियो, जेल प्रशासनको बेवास्ताका कारण घटना घट्यो' एक अधिकारीले भने । जेलर कोइरालाले आफू हाजिर भएदेखि माग राखेर कुनै समूह नआएको दाबी गरे । 'म यहाँ आएको ८ महिना भयो, अहिलेसम्म कुनै उजुरी आएको छैन' उनले भने 'कैदीबीच कुटाकुट हुन थालेपछि मात्र हामीले थाहा पायौं ।'
यो ब्लकमा लागूऔषध, ज्यान मार्ने उद्योग लगायतका कैदी राख्ने गरिन्छ । झगडा भएको मौका पारेर कैदीहरू भाग्न सक्ने आशंका गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा गराएको थियो ।
चौकीदार र नाइके कसरी ?
मुद्दा फैसला भएपछि तोकिएको सजायमध्ये ५० प्रतिशत भुक्तान गरिसकेका इमान्दार कैदीलाई जेलरले चौकिदार, नाइके, भाइ नाइके बनाउँछन् । एउटा जेलरले मात्रै जेल व्यवस्थापन गर्न नसक्ने भएका कारण कैदीबाटै आन्तरिक व्यवस्थापन गराउने कारागार ऐन २०१९ र कारागार नियमावली २०२० ले यस्तो व्यवस्था गरेको छ । चौकीदार वा नायिके बनेपछि आर्थिक तथा भौतिक फाइदा दुवै हुने गरेका कारण कैदीहरू यसका लागि प्रतिस्पर्धा गर्छन् ।
चौकीदारलाई कैदीका लागि आवश्यक सामान किन्न बजार जान छुट हुन्छ ।  एक वर्ष चौकिदार भएपछि तोकिएको सजायमा २ महिना छुट पाउँछन् । यस्तै भाइ चौकिदार र नाइकेले ४५ दिन र भाइ नाइकेले एक महिना छुट पाउने कानुनी व्यवस्था छ । सामान किन्दा आउने कमिसन चौकिदारको ठूलो आयस्रोत हो । जेलभित्र मेस, पसल चलाउने कैदीबाट चौकिदारले आर्थिक लाभ लिन्छन् । चौकिदार, नाइके र भाइ नाइकेलाई कैदीहरूबीचको आन्तरिक व्यवस्थापनको जिममा पनि दिइएको हुन्छ । कदी कैदीबीच झगडा हुन नदिनु, सरसफाइ गर्नु, कैदीको स्वाथ्य स्थितिबारे जेलरलाई जानकारी गराउनु, जेलभित्रको मर्मत सम्भारका बारेका जेलरलाई जानकारी गराउनु उनीहरूको काम हो ।

source:kantipur