काठमाडौ, असार १५ - म्यागासेसे विजेता महावीर पुनले म्याग्दीको नागीमा वायरलेस इन्टरनेट नपुर्याएको भए त्यहाँका बासिन्दा विश्वसँग यति छिट्टै कसरी जोडिन्थे ? एकछिन कल्पना गरौं ।
इन्टरनेटविहीन दुनियाँको । कस्तो हुन्थ्यो होला त्यो संसार ? धेरै पर जानै पर्दैन । पूर्वराजा ज्ञानेन्द्रको निरंकुशताका बेला सञ्चारहीन अवस्थामा तड्पिएको दिन अस्तिजस्तो लाग्छ ।
एकछिन सहरको कुरा गरौं । नेपाल दूरसञ्चार प्राधिकरणले यसै साता सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या कुल जनसंख्यामा २५ दशमलव २३ प्रतिशत पुगेको छ । तीमध्ये ६२ लाखभन्दा बढी प्रयोगकर्ता मोबाइलबाट जीपीआरएस, थ्रीजी र डब्लूसीडीएमए चलाउने छन् ।
मोबाइल सेवा प्रदायक दुई ठूला कम्पनी एनसेल र नेपाल टेलिकमको प्रतिस्पर्धाका कारण इन्टरनेट प्रयोगकर्ताको संख्या निकै बढेको छ । मोबाइल कम्पनीको बाक्लिँदो उपस्थितिले डाटा सेवामा पनि सहयोग पुगेको छ । सहरका हरेकले मोबाइलमा इन्टरनेट चलाउँदा पनि एक चौथाइ जनसंख्याको पहुँचमा मात्रै इन्टरनेट पुगेको छ ।
हरेकको जीवनको अभिन्न अंग बन्दै गएको छ, इन्टरनेट । सञ्चारका क्षेत्रमा त यसले आमूल परिवर्तन नै ल्याएको छ । एसएलसीका विद्यार्थीले रिजल्ट अनलाइनमा हेरे । बैंकका ग्राहकले अनलाइनबाटै रकम लेनदेन, बिल तिर्ने, किनमेल गर्ने गर्छन् । सिनेमा, एयरलाइन्सको टिकट इन्टरनेटबाटै किन्न सकिन्छ ।
यति धेरै सुविधा दिने इन्टरनेटको पहुँचमा बाँकी तीन चौथाइ बासिन्दा कहिले पुग्लान् ? हिमाल, पहाड र तराईमा विभाजित मुलुकमा इन्टरनेटको पूर्वाधार विस्तार त्यति सजिलो कहाँ छ र ? यसको उपाय निकालेको छ चर्चित इन्टरनेट सर्च इन्जिन गुगलको सञ्चालक कम्पनी गुगल इन्कले ।
बेलुनमा इन्टरनेट उपकरण जडान गरेर आकाशमा छाडेको गुगलले सुरु गरेको पाइलट प्रोजेक्ट सफल भयो भने ओलाङचुङगोलादेखि केचनाकलनसम्मका नेपालीले सजिलै इन्टरनेट चलाउन पाउने छन् । गुगलले जमिन/अन्तरिक्षमा पूर्वाधार निर्माणमा हुने अनावश्यक खर्च कम गर्न गजबको आइडिया निकालेको छ, मिसन लुन नाममा ।
न्युजिल्यान्डको साउथ आइल्यान्डस्थित क्राइस्टचर्चमा उसले सुरु गरेको लुन परियोजनामा इन्टरनेट चलाउने उपकरण सबै बेलुनमा जडान गरेर छाडिएको छ । सोलर एनर्जी जडान गरिएको बेलुन करिब २० किलोमिटर उचाइसम्म हावाको दिशामा उड्न सक्छ । गुगलले सुरुमा यस्ता ३० बेलुन छाडेको छ ।
यसले ठूलो क्षेत्रमा इन्टरनेट सुविधा उपलब्ध गराउने गुगलको दाबी छ । कम्पनीका अनुसार एउटा बेलुनले ४० किलोमिटर क्षेत्रभित्र थ्रीजीको स्पिडमा इन्टरनेट उपलब्ध गराउँछ । त्यसले ४८ लाख जनालाई वितरण गर्न पुग्ने हुन्छ, काठमाडौं उपत्यकाको जनसंख्याभन्दा बढीलाई ।
क्राइस्टचर्चमा सन् २०११ मा आएको महाविनाशकारी भूकम्पले सम्पूर्ण सञ्चार सम्पर्क विच्छेद गरेको थियो । यही ठाउँलाई गुगलले पाइलट प्रोजेक्टको परीक्षण गर्न चुनेको छ । यस प्रविधिमा बेलुनको तल्लो भागमा केही विद्युतीय सामग्री झुन्ड्याइन्छ । यसमा रेडियो एन्टिना, एउटा फ्लाइट कम्प्युटर, एउटा हाइट कन्ट्रोलर सिस्टम र सोलर प्यानल हुन्छ ।
यसले पश्चिमबाट पूर्वतिरको दिशामा उड्दै आफ्नो वरिपरि इन्टरनेट सेवा उपलब्ध गराउँछ । यसलाई पृथ्वीमा रहेको बेस स्टेसनसँग जोडिन्छ । त्यसपछि यसले फ्याँक्ने इन्टरनेट सिग्नल घरको एन्टिनामार्फत डिभाइसमा कनेक्सन हुन्छ । बेलुनमा जोडिएको जीपीएस सिस्टमले यसको सही स्थिति बताउनेछ ।
लुन प्रोजेक्टमा काम गरिरहेका गुगल (एक्स) का मुख्य प्रविधि आर्किटेक्ट रिचर्ड डेवाल लुनको विकाससँग नयाँ सिद्धान्त जोडिएको बताउँछन् । 'सबैसँग समान रूपमा प्राप्त हुने चीजले सबैलाई जोड्न सजिलो हुन्छ,' उनको भनाइ छ । गुगलको नयाँ प्रोजेक्ट लुनलाई गुगलको अनौठो चस्मा र ड्राइभरलेस प्रोजेक्ट सञ्चालन गर्ने टिमले विकास गरिरहेको छ । टिमको नयाँ आइडियाले सहरमा फाइबर वायर र ग्रामीण क्षेत्रमा टावर निर्माणमा लाग्ने खर्च निकै घटाउने विश्वास गरिएको छ । सामान्य अवस्थामा इन्टरनेट प्रोभाइड गर्ने काम छँदैछ, यस्ता बेलुनलाई भर्खरै दार्चुला सदरमुकाममा बाढीले सबै संरचना सखाप पारेका बेला अस्थायी रूपमा पुनः सेवा सुचारु गर्न काममा ल्याउन सकिन्छ ।
यसले जंगल, पहाड, गुफाहरूमा समेत सेवा उपलब्ध गराउँछ । गुगलले आगामी वर्ष यसलाई अस्ट्रेलिया, उरुग्वे, चिली र अर्जेन्टिनामा पनि प्रयोग गर्ने भएको छ । गुगलले केही वर्षभित्र यस्ता ३ सय बेलुन छाड्ने योजना बनाएको छ । तिनीहरू पृथ्वीको चारैतर्फ उड्ने छन् । तिनीहरूले दुर्गम स्थानलाई समेत इन्टरनेटसँग जोड्ने छन् ।
गुगलले यस प्रोजेक्टको माध्यमबाट संसारका दुई तिहाइ जनसंख्यालाई इन्टरनेटमा जोड्न सकिने दाबी गरेको छ । विज्ञहरूले भने विश्वभर हावाको रुझानअनुसार धेरै उचाइमा हजारौंको संख्यामा उडाइने यस्ता बेलुनलाई नियन्त्रण गर्न गाह्रो हुने बताएका छन् । स्वतन्त्र रूपमा उड्ने बेलुनलाई सही ठाउँमा ल्याउन साँच्चै समस्या पर्न सक्छ ।
इन्टरनेट सेवा प्रदायक सुविसु केवल नेटवर्कका सञ्चालक सुधीर पराजुली गुगलको परीक्षण सफल भए नेपालको दुर्गमका बासिन्दाले भरमग्दुर फाइदा लिन सक्ने बताउँछन् । 'गुगलको प्रविधि नेपालमा आइपुग्न केही वर्ष लाग्ला,' उनले भने, 'त्यतिखेर हामी सेवा प्रदायकलाई समेत सस्तोमा इन्टरनेट उपलब्ध हुन सक्छ ।'
कामना गरौं, गुगलको प्रोजेक्ट लुन सफल होस् । सबैभन्दा ठूलो सर्च इन्जिन, भिडियो सेयर गर्ने यु-ट्युब, म्याप, अर्थ, मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइड, ड्राइभ, ब्लगर, ग्लासलगायतको विकास/उत्पादन गरेको गुगलले नयाँ प्रविधि सुरु गरेर संसारलाई अर्को सेवा उपलब्ध गराउन खोज्दैछ । हाम्रासामु भने यसको प्रतीक्षा गर्नुको विकल्प छैन ।
- See more at: http://ekantipur.com/np/2070/3/10/full-story/371085.html#sthash.OSkSp68G.dpuf