काठमाडौं, कात्तिक १७ (नागरिक) - एकिकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टीले सशस्त्र जनयुद्ध नत्यागेको स्पष्ट पारेका छन्। दक्षिण एसियाली क्रान्तिकारी माओवादी निकट रिभोल्युसन इन साउथ एसिया डटकमलाई दिएको विस्तृत अन्तरवार्तामा भट्टराईले आफ्नो पार्टीले माओले विकास गरेको सशस्त्र जनयुद्ध त्यागेको ठान्नु भ्रम मात्र भएको बताएका हुन्।
'केही मानिस हामीले स्थायी रूपले सशस्त्र जनयुद्ध त्यागेर शान्तिपूर्ण सामाजिक विकासको मार्ग रोजेको भन्ने भ्रममा छन्' गत साता प्रकाशित अन्तरवार्तामा उनले भनेका छन्, 'यो अन्योलमा स्पष्ट हुन जरूरी छ।'
भट्टराईले संविधानसभा निर्वाचन, राजतन्त्र अन्त्यका लागि पूँजीवादी पार्टीसँग हतियार विसाई सहकार्य गर्न जरूरी भए पनि सशस्त्र युद्ध स्थायी रूपले नत्यागेको बताएका छन्।
'राजतन्त्रको उन्मुलनपछि हामी त्यसैमा रोकियौं भनेर कहिल्यै भनेका छैनौं' उनले सशस्त्र जनयुद्ध समाप्त नभएको संकेत गरे, 'के बिर्सन हुँदैन भने, हामीले सशस्त्र जनयुद्धको उपलब्धीलाई कहिल्यै (कसैका सामु) समर्पण गरेका छैनौं।'
source:nagariknews.com