काठमाडौ, २०६६ कार्तिक २७ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई आफ्ना माग पुरा गर्न एक साताको अल्टिमेटम दिएका छन् । दोस्रो चरणको आन्दोलन समापनका क्रममा उनले मंसिर ५ गतेसम्मको समयसीमा तोकेको हो ।
'हामी मंसिर ५ गतेसम्म सरकारलाई अल्टिमेटम दिन्छौं' उनले हजारौं कार्यकर्ताका सामु भने, 'त्यो दिनसम्म पनि सिंहदरवार बस्नेले सुनेनन्भने आक्रमक आन्दोलन सुरु गर्नेछौं ।'
उनले आफुहरु कुर्चीको लागि आन्दोलनमा नहोमिएको उल्लेख गर्दै यस्ता कुराको पछि नलाग्न पनि कार्यकर्तालाई आग्रह गरे । 'आन्दोलन शान्ति, नयाँ संविधानको लेखन र नागरिक सर्वोच्चता बहालीको लागि हो' उनले भने, 'यि कुराहरु प्राप्त नभएसम्म हामी झुक्ने छैनौं । सरकारसंग कुनै किसिमको सम्झौता हुँदैन ।'
माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले आफुहरुले अहिले सुनोस् भनेर सिंहदरवारको ढोका मात्र ढक्ढक्याएको बताए । 'हामीले अहिले सिंहदरवारको ढोका ढक्ढक्यायौं' उनले भने, 'सरकारले वेवास्त गर्योभने सिंहदरवारको ढोका भत्काइने छ ।'
उनले अहिलेको आन्दोलन दायाँ हातको आन्दोलन भएको उल्लेख गर्दै यो आन्दोलन शान्तिपूर्ण रहेको बताए । साथै उनले अव पनि सरकारले 'नचेते' बाँया हातको आन्दोलन सुरु हुने बताए । 'बाँया हातको आन्दोलन भनेकेा क्रान्ति हो' उनले भने क्रान्ति सुरु हुन्छ ।'
माओवादीले दोस्रो चरणको कार्यक्रम अन्त्यमा बिहीबार र शुक्रबार सिंहदरवार घेराउ कार्यक्रम राखेको थियो । कार्यक्रममा बिहीबार प्रहरीसंग झडप हुँदा तीन दर्जन नेता कार्यकर्ता घाइते भएका थिए ।
source:kantipuronline.com