प्रधानमन्त्रीले माओवादीलाई धन्यवाद दिए :

एकिकृत नेकपा माओवादीले गरेको दोस्रो चरणको आन्दोलन शान्तिपूर्ण भएको भन्दै प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीलाई धन्यवाद दिएका छन्। बालुवाटारस्थित सरकारी निवासमा आराम गरिरहेका प्रधानमन्त्री नेपालले माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटी धन्यवाद दिएका हुन्।
प्रधानमन्त्री र माओवादी नेताबीच जारी राजनीतिक संकटको निकासका विषयमा छलफल भएको थियो। 'प्रधानमन्त्रीले आन्दोलन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा धन्यवादी दिनुभयो' भेटपछि उपाध्यक्ष श्रेष्ठले भने।
प्रधानमन्त्री नेपालले माओवादीलाई तेस्रो चरणको आन्दोलन घोषणा गर्नु पहिले वार्तामा बस्न अनुरोध गरेका थिए। प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री नेपालले सरकारसँग वार्ता गर्ने हो कि राजनीतिक दलसँग माओवादीले निश्चित गरी सोही अनुसार वार्ता प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका थिए ।
प्रधानमन्त्रीसँग छलफलपछि माओवादी नेता श्रेष्ठले शनिबार साँझ नेपाली कांग्रेसका नेताहरु रामचन्द्र पौडेलसँग आफ्नै निवास ललितपुरमा वार्ता गरेका थिए। दुई नेताबीच भएको छलफलमा आउँदा दिनमा वार्तालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको नेता रामचन्द्र पौडेलले जानकारी दिए।

source:nagariknews