भक्तपुर, २०६६ कार्तिक २८ - एमाले नेता केपी ओलीले माओबादी आन्दोलनका सहभागीहरु रेखा थापाको नाच र सिंहदरबार हेर्न झुम्मिएको आरोप लगाएका छन् । एमाले बालकोट गाउ कमिटीको आठौ अधिवेशनमा बोल्दै शनिबार ओलीले भने, 'पहिला संविधान जारी गरौ, त्यसपछि रेखा थापासंग नाचौ, ऐस आरम गरौला ।' खाजा खुवाएर हिरोइनको नाच देखाएर सडक अबरोध गर्दैमा नागरिक सवोच्चता कायम हुन नसक्ने उनले बताए ।जति रोइकराई गरेपनि माओवादीले प्रधानमन्त्री नपाउने उनको भनाइ छ ।'कसैलाई प्रधानमन्त्री हुन मन छ भने बहुमत पुर्याएर आए हुन्छ,' उनले भने, 'रोइकराई गरेर मर्नै खोजे पनि सरकार हात लाग्दैन ।'
सरकार बनाउने हो भने बहुमत पुर्याउन उनले आग्रह गरे । माओबादीले आफू प्रधानमन्त्री बन्न नपाएको झोकमा आन्दोलनको कार्यक्रम घोषणा गरेको उनले आरोप लगाए । अहिलेको सरकार सत्तरी प्रतिशत जनताको सरकार भएकोले कसैले माग्दैमा नछोड्ने उनको तर्क छ । 'सडकमा आमरण अनसन बसेर प्रधानमन्त्री चाहियो भन्यो भने दिने त,' उनले भने-'माओबादीको पनि त्यस्तै हो माग्दैमा हुदैन ।' ३० प्रतिशत जनताको नेतृृत्व गर्ने पार्टीले सडकमा रोई कराई गरेर सरकार नपाउने उनले बताए ।
सात महिना भित्र नया संविधान बनाउने जिम्मेवारीबाट माओबादी पन्छिएको आरोप उनको छ । संविधान निर्माणमा माओबादी बाधक बन्दै आएको उनको आरोप छ । 'अन्य दलले जति लागेपनि के गर्ने माओबादीले नागरिक सर्वोच्चताको माग राखेर संविधान निर्माणमा बाधा पुर्याएको छ,' उनले भने-'नागरिक सर्वाेच्चताको आवाज उठाएपनि संविधान निर्माणमा अबरोध गरी नागरिक सवोच्चता हनन गरेको छ ।'
नागरिक सर्वोच्चता सडकमा नभई संविधानसभामा रहेको उनले बताए । बम पडाएर, गोली हानेर, तिग्रा ठटाएर, क्यान्टनमेन्टको लडाकु र हतियारको धाक र धम्की दिएर नागरिक सर्वाेच्चता नहुने दाबी गर्दै उनले संविधानसभाबाटै नागरिक सवोच्वता खोज्नु पर्नेमा जोड दिए । माओवादीले गरेको आन्दोलनको तुक नभएको उनको भनाइ थियो । नागरिक सर्वोच्चताको माओबादीले नै अर्थ नबुझेर आन्दोलन गरेको उनले बताए । अर्को पं्रसगमा उनले माओबादी अध्यक्ष पुष्पकमल दाहाललाई जनताको नेता नभई गुरिल्लाको नेता भएको बताए । 'दाहाल गुरिल्लाको मुख्य नेता हो,' उनले भने-'माओबादीले नागरिक सवोच्वताको कुरा उठाएपनि आफैले गुरिल्ला शासन ल्याउन खोजेको छ ।'
source:kantipuronline