किन गए दाहाल सिंगापुर? :

उजिर मगर, काठमाडौं, मंसिर २- सिंगापुरमा पार्टीको आन्तरिक कार्यक्रमका लागि जान लागेको एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई बताए। तर सिंगापुरमा नेपालीले कुनै पनि राजनीतिक गतिविधि गर्ने कानुनी प्रावधान छैन।
'पार्टी आन्तरिक काम भएकाले जान लागेको हुँ', दाहालले पत्रकारहरुसँग विमानस्थलमा भने- 'त्यो क्रममा गिरिजाप्रसाद कोइरालासँग भेटघाट हुन्छ। राजनीतिक कुरा पनि हुन्छ।'
मंसिर ५ गतेसम्म सरकारलाई अन्तिम अल्टिमेटम दिएका दाहालले अल्टिमेटम समयावधिभित्रै सहमति हुने दाबी गर्दै आएका छन्। कोइरालासँग राजनीतिक गतिरोध अन्त गर्नका लागि गर्ने राजनीतिक उद्देश्यले दाहाल त्यसतर्फ प्रस्थान गरेका हुन्।
स्रोतका अनुसार नेपालविज्ञ भारतीय प्राध्यापक एसडी मुनीको पहलमा दाहाल त्यसतर्फ प्रस्थान गरेका हुन्। मुनी एक वर्षदेखि सिंगापुरमा रहँदै आएका छन्। जवाहर नेहरु विश्वविद्यालयका पूर्व प्राध्यापक मुनी नेपालसम्बन्धी विद्यावारिधी हुन्।
मुनी एक वर्षदेखि सिंगापुर विश्वविद्यालयमा साउथ एसियन डिपार्टमेन्ट (दक्षिण एशियाली विभाग)का प्रमुखका रुपमा रहेका छन्। मुनीको कोइरालासँग परामर्शपछि उनकै पहलमा दाहाल अचानक त्यसतर्फ प्रस्थान गरेको स्रोतको दाबी छ। दुई दिनसम्म हुने उक्त भ्रमणका क्रममा त्यहाँस्थित सरकारी अधिकारीसँग भेट हुने पुत्र प्रकाश दाहालले जानकारी गराए।
कोइरालासँग उपचारको क्रममा उप-प्रधान तथा परराष्ट्रमन्त्री सुजता कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला सिंगापुरमै छन्। उपचारकै क्रमा सिंगापुरका चिकित्सकहरूसँग कोइरालाले नेपालको राजनीतिक स्थिति बिग्रिएकाले छिटो उपचार गरिदिन आग्रह गरेका थिए।'यहाँ आएपछि भेटघाट हुन्छ। उहाँ (दाहाल र महरा)हरू राति अबेर आउने भएकाले कुन समयमा भेट हुने भन्ने बारे निश्चित भएको छैन', सिंगापुरबाट शेखरले नागरिकसित भने।
यसैबीच ट्रिपलवन समरसेटस्थित ग्लेनिगल्स अस्पतालमा उपचारार्थ सभापति कोइरालालाई मुनीले सोमबार भेट गरेका छन्।
शेखरका अनुसार मध्याह्न मुनी अस्पताल पुगेर भेटघाट भएका थिए। कोइराला र मुनीबीच के कुराकानी भयो भन्ने बारे शेखरले बताएनन्।
कोइरालाका साथमा नेपाली चिकित्सक मानबहादुर केसी र जिजुनाथ पोखरेल, गएका छन्। स्वकीय सचिव शेखर थापा र निजी सुरक्षाकर्मी महेन्द्र मरासिनीसमेत सिंगापुरमा नै छन्।

source:nagariknews