माओवादीद्वारा तेस्रो चरणको संघर्षको तयारी :

राजनीतिक गतिरोध सल्टाउन आफुहरुले दिएको अल्टिमेटम शुक्रवार सकिएलगत्तै माओवादीका नेताहरुले आन्दोलनका थप कार्यक्रम शनिवार घोषणा गर्ने बताएका छन्।
तीन ठूला दलले बनाएको कार्यदल संसद खोल्ने विषयमा साझा विन्दुमा पुग्न विफल भएपछि, माओवादीको केन्द्रिय समितिको शनिवार बस्ने बैठकबाट आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने भएको उक्त दलका नेताहरुले बताएका हुन्।
शीर्ष बैठक:
विहिवार नै हुन्छ भनिएको शीर्ष नेताहरुको बैठक शुक्रवार पनि बस्न सकेन।
माओवादीका नेताहरु सहमतिको लागि डाकिएको उक्त बैठकमा गएनन्।
बरु आफ्नै स्थायी समितिको बैठकमा व्यस्त रहे।
जहाँ उनीहरुले आन्दोलनको घोषणा गर्न शनिवार डाकिएको केन्द्रिय समितिको बैठकको तयारी गरेका थिए।
माओवादीका एकजना उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार सहमतिको सम्भावना क्षीण भएपछि संघर्षका कार्यक्रम ल्याउन उनको दल वाध्य बनेको छ।
आक्रामक हुने भनिएको उक्त आन्दोलनको विस्तृत खाका केन्द्रिय समितिले तय गर्ने उनले बताए।
“शनिवार बिहानसम्मपनि सहमति हुन्छ कि भन्ने आशामा त्यतिञ्जेल संघर्षको रुपरेखाबारे हामीले छलफल नगरेका हौं।"
औपचारिकता:
यसअघि शुक्रवार दिउँसो बसेको तीन दलीय कार्यदलको बैठक औपचारिकतामै सीमित भएको थियो।
शीर्ष नेताहरुबाटै साझा संकल्प प्रस्ताव बनाउने जिम्मा पाएको उक्त कार्यदल, सबै दल पुरानै अडानमा कायम भएपछि, सो काम गर्न असमर्थ भयो।
शीर्ष नेताहरुको थप मार्गनिर्देशन विना आफुहरुले केही गर्न नसक्ने निश्कर्षमा कार्यदलका सदस्यहरु पुगेका छन्।
कार्यदलका सदस्य तथा एमाले नेता युवराज ज्ञवालीले भने, “कार्यदलले मात्रै यो कुरा टुंग्याउन सक्ने सम्भावना छैन।”
पूर्वनिर्धारीत शीर्ष नेताहरुको बैठक शुक्रवार बस्न नसकेपनि प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो।
उक्त भेटमा भएको कुराकानीपछि बजेटको निम्ति संसद चलाउन गरीएको सरकारको आग्रहबारे आफ्नो पार्टिले शनिवार निर्णय गर्ने प्रचण्डले बताएका थिए।

source:bbcnepali