काठमाडौ, २०६६ मंसिर ६ - माओवादीले वजेट पास गर्न तीन दिनको लागि व्यवस्थापिका संसदको बैठक खोल्ने निर्णय गरेको छ । विगत चार महिनादेखि अवरुद्ध व्यवस्थापिका संसदको बैठक जनता, राष्ट्र, कर्मचारी , सुरक्षा निकायप्रति जिम्मेवार भन्दै माओवादीको शनिबार बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । तेस्रो चरण आन्दोलन कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष पुष्पकमल दाहालले सदन एकतर्फीरुपमा खोल्ने निर्णय गरिएको बताए ।
बैठकपछि अध्यक्ष दाहालले पत्रकार सम्मेलन गरी नागरिक सर्वोच्चता र राष्ट्रपतिको विषयमा पटक पटक सरकारसँग वार्ता गर्दा पनि निकास ननिस्केपछि जिम्मेवार पार्टीको हैसियतले सदन खोलेको बताए । अध्यक्ष दाहालले पार्टीसंग विभिन्न चरणमा वार्ता गर्दा पनि कुनै सहमति नभएपछि तेस्रो चरणको आन्दोलन घोषणा गर्न बाध्य भएको पनि बताए । तेस्रो चरण आन्दोलन चरम उत्कर्षमा पुग्ने र जनताको व्यापक सहभागित रहनेसमेत उनले दाबी गरे । 'यसमा जनताको व्यापक सहभागित रहन्छ' उनले भने, 'हामी जनताको व्यापक सहभागिता गराउँछौ ।' दाहालले आन्दोलन र शीर्ष नेतृत्वसँग वार्ता प्रक्रिया पनि जारी रहने समेत बताए । उनले सहमति निस्कने सम्भावना भए जुनसुकै वेला वार्ताको टेवुलमा बस्ने उल्लेख गरे । सरकारका मन्त्रीबाट शान्ति सम्झौता, संविधान विरोधी अभिव्यक्तीले मुलुक गभ्भीर संकटमा फस्ने सम्भावना रहेको उनले दाबी गरे ।माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले आन्दोलनको क्रममा स्वायत्त गणराज्य घोषणा गर्ने सम्भावनासमेत रहेको बताए । उनले भने, 'हामी आन्दोलनको रुप हेरेर गणराज्य घोषणा गर्छौ ।' उनले जनदवाव सिर्जना गरेर नागरिक सर्वोच्चता कायम गरि छाड्ने दाबी गरे ।अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आइतबार बिहान पुन बस्ने माओवादी संसदीय दलको बैठकले व्यवस्थापिका संसद खोल्ने दिन निर्धारण गर्ने बताए ।
तेस्रो चरणको आन्दोलन अन्तर्गत माओवादीले आमहडतालको कार्यक्रमसमेत सार्वजनिक गरेको छ । मंसिर ७-१५ गतेसम्म प्रचारप्रसार, १६-२५ सम्म जनवर्गीय संगठनसँग छलफल, २६-४ सम्म जातीय, क्षेत्रिय मुक्ती मोर्चाहरुको विरोध कार्यक्रम, पौष ५,६, र ७ गते देशव्यापी आमराजनैति हडताल गर्ने निर्णय गरेको छ । त्यसपछि पनि मागमा सम्वोधन नभए माओवादीले अनिश्चितकालीन आम हड्तालका कार्यक्रम तय गरिने चेतावनी दिएको छ । त्यसैगरी राष्ट्रपति, प्रधानमन्त्री, र मन्त्रीहरुलाई कालो झण्डा र सार्वजनिक कार्यक्रम बहिष्कार गर्ने कार्य निरन्तर जारी राख्ने बताइएको छ ।
source:kantipur