आउने शुक्रवार विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको फेदीमा सरकारको क्याबीनेट बैठक बस्ने अधिकारीहरुले जनाएका छन्।
डिसेम्बरमा डेनमार्कको राजधानी कोपेन्हेगनमा विश्व जलवायु परिवर्तनबारे हुन लागेको शिखर सम्मेलन अगाडि डाकिएको सो बैठकले नेपालले कोपेन्हेगनमा प्रस्तुत गर्ने एजेण्डामाथि छलफल गर्ने बताइएको छ।
बन्दोबस्त:
संसारको सबैभन्दा अग्लो ८,८५० मीटर अग्लो सगरमाथाको फेदीमा हुने उक्त बैठकमा जान अक्सीजनदेखि लिएर स्वास्थ उपचारको सबै बन्दोबस्त मिलाइएको छ।
उक्त बैठकको लागि मन्त्रीहरु झोलीतुम्बा बोकेर विहिवारनै काठमाण्डूबाट लुक्लातिर लाग्नेछन्।
वन तथा भू संरक्षण मन्त्री दिपक बोहोराले भने, “मन्त्रीहरु हेलिकप्टरमा जानेछन्। पहिला लुक्ला र त्यहाँबाट स्याङ्गबोचे जाने योजना छ।” लुक्लाबाट स्याङ्गबोचे पुगेर राती त्यहीं बास बसेपछि भोलिपल्ट सगरमाथा आधार शिविर नजिकैको गाउँ गोरकशेपमा क्याबीनेट बैठक बस्नेछ। हिमालको फेदीमा रहेको उक्त ठाउँ समुद्री सतहबाट करीब ५,२०० मीटरमाथि रहेको छ।
अग्लो एजेण्डा:
संभवत संसारमै पहिलोचोटि त्यति धेरै अग्लो ठाउँमा बस्न लागेको क्याबीनेट बैठकले जलवायु परिवर्तनबारे कोपेन्हेगनमा हुने सम्मेलनमा नेपालको तर्फबाट प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल गर्नेछ।
“कोपेन्हेगनमा नेपालले प्रस्तुत गर्ने प्रतिवेदनबारे छलफल गरेर तय गरिनेछ,” मन्त्री बोहोराले बताए।
एउटा क्याबीनेट बैठक बस्न सिंहदरबारबाट त्यत्ति टाढा जानुपर्नाको कारण चाहीं हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे संसारको ध्यान खिंच्नुनै रहेको मन्त्रीहरुको भनाइ छ।
मन्त्री बोहोराका अनुसार अहिलेसम्म जलवायु परिवर्तनले एन्टार्टिका र ब्राजिलका वनजंगलमा परेको प्रभावमात्रै संसारको चासोको विषय बन्न सकेको छ।
“तर म्यान्मारदेखि अफगानीस्तानसम्म फैलिएको करीब तीन हजार किलोमीटर लामो हिमश्रृंखलामा परेको असरबारे कसैको ध्यान गएको छैन,” उनले भने।
source:bbc