खाडि देश यूएईस्थित दुबई वर्ल्ड नामक एउटा ठूलो लगानी कम्पनी डुब्न लागेको आशंका बढेपछि त्यहाँ रहेका नेपाली कामदारहरुको भविष्यबारे चिन्ता छाएको छ। करीब डेढ लाख नेपाली कामदारहरु रहेको यूएईको दुबई रोजगारीको लागि एउटा आकर्षक गन्तव्य मानिन्छ।
अनिश्चय:
दुबईमा खर्बौं रुपैयाँको लगानीमा ठूल्ठूला भवन बनाउने उक्त कम्पनीले ऋण तिर्ने भाखा नघाएपछि उसले चलाएका आयोजनाहरु अनिश्चयमा फंसेका छन्।त्यसैको साथ ती आयोजनामा काम गर्ने कैयौं नेपालीहरुको भविष्य समेत अनिश्चयमा फंसेको छ। युएईको ठुलो सहरको रुपमा चिनिने दुवईमा निर्माण कंपनी चलाएर बसेका नेपाली व्यवसायी सीपी सापकोटाका अनुसार दुबईको मन्दीले नेपाली व्यवसायी तथा कामदार दुवैलाई केही असर परिसकेको छ।
यसले दुबईमा रोजगारका अवसर घट्न सक्ने बताइन्छ।
असर:
तर त्यहाँको मन्दीलाई अध्ययन गरिरहेका एक जना नेपाली जानकार तथा एनआरएनका कोषाध्यक्ष रामेश्वर शाह चाहीं अन्य देशका कामदारको तुलनामा नेपाली कामदारलाई कम असर परेको बताउँछन्। सरकारले पैसा दिएर सहयोग गर्ने भएपछि उक्त कम्पनीका आयोजनाहरु तत्काल बन्द नहुने हुँदा हाल त्यहां काम गरिरहेका नेपालीलाई खासै असर नपर्ने उनको तर्क छ।
हुन त दुबई वर्ल्ड टाट पल्टिसकेको छैन र उसले यो संकटबाट पार पाउने सम्भावनापनि जीवितै छ।
तर वित्तीय मामिलामा निकै मजबूत रहेको ठानिएको उक्त कम्पनीको झण्डै ६० अर्ब डलरको ऋणको भाखा ६ महिनाले बढाउन स्वयं दुबई सरकारले अनुरोध गरेपछि धेरैको मनमा चीसो पसेको थियो। यसअघि यो वर्षको शुरुमै घरजग्गाको मूल्यमा गिरावट आएपछि दुबईमा आर्थिक मन्दी लागेको बताइएको थियो। त्यसको असरका कारण नेपालीद्वारा संचालित रेष्टुरेन्ट, मोटर पाट्स, कार्गो, ट्रेडिङ, ट्राभल सहित सबै भन्दा धेरै रियल स्टेट र निर्माण कंपनीले बढी समस्या व्यहोरेका थिए।
यसबाट विभिन्न पेशा, व्यवसाय संचालन गर्नेसंगसगै रोजगारको खोजीमा गएका नेपाली कामदारहरुलाई उत्तिकै असर परेको छ।
केही समय यता दुबईबाट फर्किने कामदारको तुलनामा त्यहाँ पुग्ने कामदारको संख्या घट्नुले पनि यसलाई पुष्टी गरेको छ।
source:bbc