बारा, २०६६ मंसिर ११ - बाराको बरियारपुरमा अवस्थित गढीमाईको दर्शन गर्न आएका उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहितका मन्त्रीलाई माओवादी कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
बिहीबार स्थानीय माओवादी नेता कन्हाई यादवको नेतृत्वमा रहेका कार्यकर्ताले उपप्रधानमन्त्री गच्छदार, पर्यटनमन्त्री शरदसिंह भण्डारी, भौतिक योजना तथा निर्माण सहायकमन्त्री कलावती पासवान, संसदीय विकास समिति संयोजक जितेन्द्र सोनल, सभासद गोविन्द चौधरी लगायतलाई मन्दिरको गेटमै नारावाजी गर्दै कालो झण्डा देखाएका थिए । बिहान १० बजे सेनाको हेलिकप्टरमा गढीमाई आईपुगेका गच्छदार सहितका मन्त्रीले गढीमाईको दर्शन गरेर र्फकने क्रममा मन्दिरको गेटमा हुलबाट नाम नखुलेका एक माओवादी कार्यकर्ताले उपप्रधानमन्त्री माथि चप्पल प्रहार गरेका थिए ।
प्रहार गरिएको चप्पल उपप्रधानमन्त्री नजिकै खसेेपछि प्रहरीले लाठी प्रहार गर्न सुरु गरेको थियो ।प्रहरीको लाठीबाट मओवादी कार्यकर्ता सहित दुई दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएको प्रत्यक्षदर्शीले बताए ।
घाइतेहरुको मेलामा संचालित स्वास्थ्य शिविरमा उपचार भइरहेको कलैया अस्पतालका चिकित्सक डा. अख्तर रेजाले बताए ।
घाइतेहरु मध्ये अधिकांशको टाउको, हात, खुट्टामा चोट लागेको छ ।
बिहान १० बजे देखी ११ बजे सम्म एक घण्टा गढीमाई मन्दिर वरिपरिको स्थिति तनावग्रस्त बनेको थियो ।
source:kantipur