काठमाडौ, २०६६ मंसिर ११ - राष्ट्रपति रामबरण यादवले राजनीतिक गतिरोध अन्त्य गर्न प्रमुख तीन दलले दिएको सुझाव आफूलाई मान्य हुने बताएका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा उनले शान्ति, लोकतन्त्र र संविधान निर्माणमा आफू सधै सकरात्मक रहने बताएका थिए । भेटमा सहभागी माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपति पनि अहिलेको राजनैतिक गतिरोधप्रति चिन्तित भएको जानकारी दिए । 'प्रमुख तीन दलले सहमति गरेर आए मेरो भूमिका सकारात्मक रहन्छ' राष्ट्रपतिको भनाइलाई उदघृत गर्दै श्रेष्ठले कान्तिपुरसँग भने, 'राष्ट्रियता जोगाउन पनि तीन दल मिल्नु पर्छ ।'
राष्ट्रपतिले राजनीतिक परिवर्तनमा माओवादीको उल्लेखनीय भूमीका रहेकाले अव निकासका लागि पनि माओवादीले नेतृत्व लिनु पर्ने बताएको श्रेष्ठले जानकारी दिए ।
दाहालले आफूहरुको राष्ट्रपतिको विवादमा पार्ने मनसाय नभएको भन्दै अहिले आन्दोलन नागरिक सर्वोच्चताको लागि भएको राष्ट्रपतिलाई जानकारी गराएका थिए । 'व्यक्तिगतरुपमा हाम्रो तपाइसँग कुनै पूर्वाग्रह छैन', राष्ट्रपतिसँग दाहालले गरेको संवादबारे जानकारी दिदै श्रेष्ठले भने, 'हामी सहमतिका लागि भोलिदेखि नै अन्य दलसँगको संवादलाई तीव्रता दिन्छौं ।' भेटमा उनले राष्ट्रपतिलाई गम्भीर पाएको समेत बताए ।
तेस्रो चरणको आन्दोलन गर्दै आएको माओवादी शीर्ष नेतृत्वले आज साँझ निवासमै गएर करीव डेढ घण्टा राष्ट्रपतिसँग भेटवार्ता गरेका हो ।
source:kantipur