सगरमाथाको आधार शिविर कालापत्थरमा शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले जलवायु परिवर्तनको असरबारे विश्व समुदायसमक्ष सकारात्मक सन्देश दिएको विशेषज्ञहरूले विश्लेषण गरेका छन् ।
संसारकै अग्लो ठाउँमा गरिएको बैठकले सोमबारदेखि कोपनहेगनमा सुरु हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालले विश्व समुदायको ध्यान आफूतिर खिच्ने उनीहरूको टिप्पणी छ ।
जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको १५ औं सम्मेलन (कोप १५) ७ देखि १८ डिसेम्बरसम्म कोपनहेगनमा हुँदै छ । नेपालबाट सम्मेलनको नेतृत्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् । प्रधानमन्त्री नेपालले तीन मिनेटभित्र जलवायु परिवर्तनको असर र सहयोगसम्बन्धी मन्तव्य दिनेछन् ।
नेपालले 'हिमाल बचाउ' का लागि 'अन्तर्राष्ट्रिय पर्वतीय दिवस' का अवसरमा ११ डिसेम्बरमा कोपनहेगनमा मार्चपास कार्यक्रम गर्दै छ । त्यो कार्यक्रममा नेपालका २७ र अन्य विभिन्न मुलुकका सगरमाथा आरोहीलाई सहभागी गराइने कार्यक्रम सफल पार्न लागि परेको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव जुद्धबहादुर गुरुङले बताए ।
source:kantipur