सुन्दा आश्चर्य लाग्नसक्छ, एकाइसौं शताब्दीको आधुनिक नेपालमा पनि देवता खुसी पार्न मानिसको रगत चढाउनुपर्ने बाध्यता छ । बाराको गढीमाईमा लाखौं पशुको बलि दिन थालिएपछि नरबलिको चर्चा ओझेलमा परेको हो । यद्यपि गढीमाईमा पशुको बलि दिनुअघि मानिसको रगत अनिवार्य चाहिने प्रथा अझै विद्यमान छ । देवीले ' मानिसको रगत पाएपछि मात्र खुसी हुन्छु' भनेको किंवदन्तीका आधारमा गढीमाई मन्दिरमा प्रत्येक वर्ष नरबलिको प्रतिकस्वरूप मानिसको रगत चढाइन्छ । मानिसको रगत खान नपाए देवीले अनिष्ट गर्छिन् भन्ने विश्वासका आधारमा यहाँ मानिसले आफ्नो अंग काटेर रगत दिन्छन् । यसका लागि दुःखन कछडिया नामक व्यक्तिलाई नियुक्त गरिएको छ । कछडियाले प्रत्येक वर्ष गढीमाईमा आफ्नो निधार, दाहिने कान, जिब्रो, दाहिने छाती एवं दाहिने तिघ्रा काटेर रगत दिन्छन् । 'देवीले मानिसको रगत माग्छिन्, यदि मैले आफ्नो रगत नदिए धेरै मानिस रगत छादेर मर्नेछन् ।' देवीका लागि आफ्नो अंग काट्न पाएकोमा गौरव गर्दै दुःखनियाले टेलिफोनमा भने, 'मैले पीडा सहेका कारण यस क्षेत्रका हजारौं मानिस सुविस्ताका साथ जीवन बिताइरहेका छन् ।' दुःखनिया गढीमाई मन्दिरभन्दा ३० किलोमिटर उत्तर सिमरीगाउँमा बस्छन् । अंग काटेपछि आरामका लागि घर पुगेका दुःखनियाले साप्ताहिकसँग भने, 'म अहिले केही बिरामी छु, केही दिनपछि ठीक हुन्छु ।'
हरेक पाँच वर्षमा लाग्ने भव्य मेलामा मानिसले स-साना बालबालिकाको बलि दिने प्रथा चलेपछि निश्चित व्यक्ति नियुक्त गरेर मानिसको रगत मात्र चढाउन थालिएको हो । व्यक्ति नियुक्त गरेर रगत दिने चलन कहिलेदेखि प्रारम्भ भयो भन्ने ऐतिहासिक दस्तावेज पाइँदैन्ा । माओवादी सभासद् तथा गढीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवचन्द्र कुसवाह भन्छन्, 'जसरी मन्दिरमा पुस्तैनी पूजारीको चलन छ, रगत दिने व्यक्ति पनि त्यसैगरी नियुक्ति भएका छन् ।' कम्युनिस्टले धर्मलाई अफिमको संज्ञा दिए पनि माओवादी सभासद्को अध्यक्षतामा मानव रगत र लाखौं पशुबलिको चलन कायम हुनुलाई भने आश्चर्य नै मान्नुपर्छ ।
source:saptahik