हिंसा भड्किन नदिन आग्रह :

नेपालस्थित राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयले कैलाली दुधेझरीमा संभावित हिंसा पुनः भड्किन नदिन र आत्मसंयम अपनाउन सरकार र एकिकृत माओवादीलाई सतर्क गराएको छ।
'ओएचसिएचआर-नेपाल सरकार र एकिकृत माओवादीलाई संभावित हिंसा नियन्त्रण गर्न र आत्मसंयम अपनाउन सतर्क गराउँदछ' कार्यालयद्वारा सोमबार जारी वक्तव्यमा उल्लेख छ।
कार्यालयले सुरक्षाकर्मीद्वारा अत्यधिक बल प्रयोग गरिएको र बन अतिक्रमणकारीले सुरक्षाकर्मीमाथि खुकुरी लाठी, बञ्चरोलगायत घरेलु हतियार प्रयोग गरेको भन्ने सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।
घटनामा कम्तीमा ३ बनअतिक्रमणकारी र १ सुरक्षाकर्मीको ज्यान गएको थियो। ४१ जना अतिक्रमणकारी र ९ प्रहरी घाइते भएका छन्।
'हामीले स्थलगत रूपमा गएर, परिस्थितिको अनुगमन गरिरहेका छौं र थप हिंसा रोक्नका निम्ति सम्बन्धित पक्षसँग छलफल गरिरहेका छौं' उच्चायोगका नेपाल प्रतिनिधि रिचर्ड बेनेटले भनेका छन्, 'म राज्य प्रशासनमा जिम्मेवार पक्षहरूलाई थप हिंसा भड्किन नदिन आग्रह गर्छु।'

source:nagariknews