काठमाडौँ, २४ मङ्सिर। अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलले माओवादीसँग हतियार सहितको सेना भएको नबिर्सन चुनौती दिएका छन्। आफूहरू मजदुर र किसानको सर्वोच्चताका लागि लडिरहेको बताउँदै उनले वर्तमान सरकार र अन्य ट्रेड युनियनहरू भने मजदुरका हक, अधिकार विरोधीका रुपमा रहेको आरोप लगाए।
माओवादीले पुनः युद्धको घोषणा गरेमा सबैलाई परास्त गर्ने उल्लेख गरे। तर आफूहरु फेरि युद्धको मानसिकतामा नरहेकाले शान्ति प्रक्रियातर्फ केन्द्रित रहेको उनले बताए। महासंघले आयोजना गरेको यातायात बाहेकको नेपाल बन्दको दिन राजधानीमा निकालेको विरोध र्यालीपछि आयोजित सभामा उनले अठार दलको सहमतिमा राष्ट्रपतिले सरकारको निर्णय उल्टाउने गलत कदम चालेपछि त्यसविरुद्ध आन्दोलनमा उत्रनु परेको दाबी गरे। सो कदम भारतको इसारामा भएको उनको दाबी थियो।
र्याली बागबजार, पुतली सडक, सहिदगेट हुँदै रत्नपार्क चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
source:nagariknews