अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठनको रेडकर्नर नोटिसमा २४ जना नेपाली परेका छन्। अपहरण, हत्या, चोरी र जालसाजीको अभियोगमा सन् २००८ देखि हालसम्म २४ नेपाली इन्टरपोलको रेडकर्नर नोटिसमा परेका हुन्।
१५ नेपाली भारतको अनुरोधमा इन्टरपोलको सुचीमा परेका हुन् भने ९ जना नेपालको अनुरोधमा परेका हुन्। नेपालको अनुरोधमा नोटिसमा पर्नेमाथि यौन अपराध, ज्यान मार्ने उद्योग, अपहरण, ठगी र हातहतियारको अभियोग छ भने भारतको आग्रहमा रेडकर्नर नोटिस जारी हुनेमा अधिकांश चोरी र जालसाजीमा संलग्न छन्।
प्रहरी प्रवक्ता विज्ञानराज शर्माका अनुसार कुनै फरार अपराधीले आफ्नो राष्ट्रको सीमा पार गरेको निश्चित भएपछि अनुसन्धान र पक्राउका लागि सहज बनाउन इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरिन्छ। उनले भने, 'इन्टरपोलमार्फत नोटिस जारी भएपछि फरार अभियुक्तको खोजी गर्न इन्टरपोलको एनसिबी युनिट सक्रिय हुन्छन्, यसले अभियुक्त जुन देशमा छ, त्यहाँ पक्राउ गरी अनुसन्धान प्रक्रियामा ल्याउन सहज हुन्छ।'
नेपालका फरार अभियुक्त प्रायः भारतमा लुक्ने गरेका छन्। नेपाल प्रहरीले उनीहरूको खोजी गर्न इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गराउने गरेको छ। यसरी केही अभियुक्तहरू भारतमा पक्राउ समेत परेका छन्।
source:nagariknews