गाँठो फुकाउने प्रयास/नेपाल-दाहालबीच गोप्य भेट :

काठमाडौ, २०६६ पुस ७ - राजनीतिक गतिरोध चर्कंदै गरेका बेला प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ गोप्य वार्ता भएको छ । प्रधानमन्त्री नेपालले राष्ट्रपति रामवरण यादव र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग छुट्टाछुट्टै छलफल गरेलगत्तै दाहालसँग गोप्य भेटवार्ता गरेका हुन् । राजधानीको धुम्बाराहीस्थित एक निजी निवासमा भएको भेटको विवरण दुवै पक्षले गोप्य राखेका छन् । भेटवार्ताका लागि प्रधानमन्त्री र माओवादी अध्यक्षले आ-आफ्ना सुरक्षागार्ड र स्कर्टिङ छाडेर गएका थिए । केहीअघि प्रधानमन्त्रीले वार्ताका लागि सगरमाथा क्षेत्रको कालापत्थरजस्तै शान्त र गोप्य स्थल आवश्यक रहेको बताएका थिए । स्रोतका अनुसार कोइरालालाई भेटेर बालुवाटार पुगेलगत्तै प्रधानमन्त्री नेपाल रातो नम्बर प्लेटको गाडीमा निस्केका थिए । उनी ९ बजेतिर मात्र बालुवाटार फर्केका थिए । उनीहरूबीच राजनीतिक गतिरोध अन्त गर्ने विषयमा छलफल भएपनि ठोस सहमति हुन नसकेको स्रोतको दाबी छ । कांग्रेस सभापति कोइरालाले माओवादीसँग वार्ताको विशेष प्रयास गर्न सुझाव दिएलगत्तै प्रधानमन्त्रीले दाहाललाई भेटेका हुन् ।

source:kantipur