दाहालको भनाइ विदेशी हस्तक्षेप निम्त्याउने प्रयास : दलहरु :

माओवादी अध्यक्ष पुष्पकमल दाहालको दलहरुसँग नभई सिधै दिल्लीसँग वार्ता गर्ने भन्ने अभिव्यक्तिले विदेशी हस्तक्षप निम्त्याउन खोजेको भन्दै दलका नेताहरुले चर्को टिप्पणी गरेका छन्। कांग्रेस उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलले दाहालको दिल्लीसँग सिधै वार्ता गर्ने भन्ने अभिव्यक्तिले माओवादीको हताश मनस्थीति प्रतिविम्वित भएको टीप्पणी गरे।
'आफ्नै राष्ट्रभित्र रहेका दलहरुसँग छलफल गरी सहमतिमा जानुपर्ने विषयमा सिधै दिल्लीलाई 'पुकार गर्नु' हताश मनस्थीतिको उपज हो, यसले विदेशी हस्तक्षप थप बढाउछ' पौडेलले नागरिकसँग भने। पौडेलले माओवादीले विश्वास गुमाउदै गएकोले भारतीसँग गुहार गरेको बताए। 'नेपाली जनता, दलहरु र नागरिक समाजसँगको विश्वास गुमाएकोले माओवादी नेतृत्वले दिल्लीसँग वार्ता गर्ने उद्घोष गरेको हो' उनले भने। तीन दिने आम हड्तालको समापन भाषणका क्रममा मंगलबार दाहालले आफ्नो पार्टीले दलहरुसँग नभई सिधै दिल्लीसँग वार्ता गर्ने घोषणा गरेका थिए। दाहालको यस्तो अभिव्यक्ति सार्वजनिक भए लगत्तै नेताहरुले चर्को आलोचना गरेका छन्।उनीहरुले दाहालले अनावस्यक विदेशी हस्तक्षप गराउने उदेश्यबाट पे्ररित भएर यस्तो भनाई सार्वजनिक गरेको बताएका छन्। कांग्रेस, एमाले लगायतका प्रमुख राजनीतिक दल र सरकारसँग वार्ताको कुनै औचित्य नभएको भन्दै दाहालले आफ्ना कार्यकर्ताहरुलाई अव सिधै दिल्लीसँग वार्ता गर्ने उद्घोष उक्त समापन भाषणमा गरेका थिए।
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सर्यबहादुर थापाले भारतले हस्तक्षप गर्‍यो भन्ने माओवादीकै नेतृत्वले दिल्लीसँग वार्ता गर्छु भनेर उनीहरुको वास्तविकता उदाङगीएको टिप्पणी गरे।'ठूला पार्टीका नेताले दिल्लीमा वार्ता गर्छु भन्नु अराष्ट्रिय कुरा हो यसले सारा नेपालीको बेइज्जत गरेको छ' उनले टिप्पणी छ। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रघुजी पन्तले सर्वभौम देशमा सबै निर्णय गर्ने अधिकार जनताका प्रतिनिधिसँग हुने बताउदै माओवादीको भनाइले खासै अर्थ नराख्ने टिप्पणी गरे। 'माओवादी नेताहरुको अनावस्यक टिप्पणीले कुनै असर गर्दैन, कसैले विदेशीलाई आफ्नो देशको मालिक देख्छ भने त्यो उसको दृष्टिभ्रम मात्र हो' पन्तले भने।

source:nagariknews