दार्चुलाका बासिन्दा कैलालीमा सुकुम्वासी :

कैलालीको बलिया गाविसको डुडेझारी जगंलक्षेत्रमा सुकुम्वासीको नाममा दार्चुलाबाटसमेत केही परिवार गएर बसेको खुलासा भएको छ। धुलिगडा गाविस वडा नं ४ का आधा दर्जन परिवार सुकुम्वासीको नाममा उक्त वनक्षेत्रमा बस्न गएको स्थानीय गाँउलेहरू बताउँछन्। माओवादीका पूर्व गाजस प्रमुख जसमलसिंह धामीले धुलिगडा वडा नं ४ का आधा दर्जन परिवारलाई कैलालीको घटना हुनुभन्दा एक हप्ता पहिले दार्चुलाबाट कैलाली लगेका थिए। सुकुम्वासीको नाममा जग्गा उपलब्ध हुने आश्वासन दिएर पाँच परिवारलाई कैलाली लगिएको धुलिगडाका एक स्थानीय बासिन्दाले बताए। उनका अनुसार धुलिगडा गाविस वडा नं. ४ का मानसिंह धामी, धनजितसिंह धामी, अङ्गवीरसिंह ठगुन्ना, मानसिंह ठगुन्ना र चन्द्रसिंह ठगुन्नाको परिवार सुकुम्वासीको नाममा बसोवास गर्न कैलालीको बलिया पुगेका हुन्।
'सुकुम्वासीको नाममा जग्गा मिल्ने भन्दै गएका थिए, तर कैलालीमा त्यत्रो घटना भयो, के पाए होलान् जग्गा?'-नाम प्रकाशित नगर्ने सर्तमा धुलिगडा गाविसका एक धामी थरका स्थानीयवासी भन्छन्। माओवादीका पूर्व गाजस प्रमुख जसमलसिंह धामी एक वर्षअघि नै गाँउको घरजग्गा बेचेर कैलालीको मसुरिया बसाइँ सरेका थिए। कैलाली घटाना हुनुभन्दा एक हप्ताअघि मात्र उनले गाँउ आएर ती परिवारलाई कैलाली लगेको स्थानीय बासिन्दा बताउँछन्। सुकुम्वासीको नाममा जग्गा पाइने भन्दै कैलाली गएका चारै जनाको धुलिगडा वडा नं ४ मा घरखेत र पाखोवारी रहेको छ भने उनीहरूले कैलालीबाट आफन्तहरूलाई फोनमार्फत वन क्षेत्रमा जग्गा पाइने जानकारी दिएको स्थानीय बासिन्दाहरू बताउँछन्। कैलालीमा मङ्सिर १९ गते भएको घटनापश्चात् उनीहरूको अवस्थाबारे कुनै खबर नआएको धुलिगडाका स्थानीय बासिन्दा बताउँछन्।(रासस)

source:nagariknews