'मेरो विकल्पमा कोही छैन':
अमर खड्का, इटहरी मंसिर २९- नेपाली कङ्ग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब कङ्ग्रेस थाम्ने पालो आफनै भएको दाबी गरेका छन्। 'पार्टी थाम्ने मेरो विकल्पमा कोही छैनन्', कार्यकर्ता भेटघाटका क्रममा सोमबार सुनसरी सदरमुकाम इनरुवामा उनले भने। देउवाले सञ्चारकर्मीसँगको कुराकानीमा भने- 'पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य र उमेरले गर्दा सक्रिय हुने अवस्था छैन, त्यसैले अब जिम्मेवारी मेरै हो।' कोइरालापछि सम्पूर्ण जिम्मेवारी आफूमा आइलाग्ने भएकैले पार्टीलाई सङ्गठित बनाएर लान पूर्वमा कार्यकर्ता भेटघाटमा व्यस्त रहेको उनले बताए। देउवा एक साताअघिदेखि पूर्वमा विभिन्न जिल्लामा कार्यकर्ता भेटघाटमा व्यस्त छन्। पार्टीको असान्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने विषयमा सञ्चारकर्मीको प्रश्नमा पार्टीको सम्पूर्ण जिम्मेवारी आफनै काँधमा आउन लागेकाले सभापतिमा उम्मेदवारी दिने/नदिने आफैं बुझ्नुपर्ने जवाफ दिए । उनले भने- 'अहिले सबै कुरा भन्ने समय आइनसकेकाले समय आएपछि बताउँछु, अहिले भने पार्टीलाई क्रियाशील बनाउने अभियानमा लागेको छु।' आफूमा जिम्मेवारी आइसकेपछि पार्टी थप सक्रिय हुने पनि उनले दाबी गरे। एकीकृत माओवादीले देशभर सङ्घीय राज्यको घोषणा गरिरहेको प्रसङ्गमा देउवाले शान्ति सम्झौताविपरीत माओवादीले कार्य गरेको बताए। उनले भने- 'सबै काम माओवादीले एकलौटी घोषणा गर्दै जाने हो भने संविधानसभाको के औचित्य ?' माओवादीले जथाभावी सङ्घीय राज्य घोषणा गरेर अन्तरिम संविधानको समेत खिल्ली उडाएको उनले टिप्पणी गरे।
source:nagariknews