रंगशालामै रोपाइँ :

विराटनगरको क्षेत्रीय रंगशाला ट्रयाक्टरले जोतेर धान, गहुँ, मकै र चनाको बीउ रोपिएको छ । सर्वसाधारण किसानले होइन, खेलाडीले यस्तो अनौठो 'रोपाइँ' गरेका हुन् । राजनीतिक दलका सभा, सम्मेलन र औपचारिक कार्यक्रम भइरहने सहिद रंगशालामा खेलकुद बन्द भएपछि खेलाडीले ट्रयाक्टर प्रयोग गरी जोतेका हुन् । रंगशालाको दुरुपयोग भएको विरोधमा खेलाडीले मंगलबार विभिन्न जातका अन्न छरेका छन् ।विराटनगरको एक मात्र रंगशालामा औद्योगिक मेला, राजनीतिक दलका सभा, धार्मिक प्रवचन र अन्य औपचारिक कार्यक्रम भइरहेका हुन्छन्, तर लामो समयदेखि खेल-गतिविधि भएका छैनन् ।
आ-आफ्ना खेलसँग सम्बन्धित पोसाक र खेल-सामग्रीसहित खेलाडीहरू मंगलबार मध्याह्न चार बजे सहिद मैदानमा उत्रिएका थिए । तर, उनीहरूले नेट, बल र ब्याट चलाएनन्, बरु ट्रयाक्टर चलाएर धमाधम मैदान जोत्न थाले ।
करिब दुई बिघा जग्गामा बनेको खेल-मैदानको प्याराफिट घेराउ गरेर खेलाडीले मकै, चना, मास र गहुँ छरे । एक सयभन्दा बढी खेलाडी भेला भएर खेल-मैदानभरि अन्नबाली छरेर राज्यको विरोध गरे । फुटबल, क्रिकेट, उसु, कराँतेलगायत विभिन्न खेलसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उक्त रोपाइँ कार्यक्रममा सहभागी थिए ।
रंगशालामा खेलकुदका कार्यक्रमभन्दा बढी धार्मिक कार्यक्रम, महोत्सव, सर्कस र विभिन्न भाषण हुन थालेपछि विरोधस्वरूप यसो गरिएको विरोध कार्यक्रमको नेतृत्व गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष राम लिम्बूले बताए ।'रंगशाला व्यापारिक प्रयोजनमा उपयोग हुन थाल्यो, सरकारले के गर्न खोजेको हो, स्पष्ट होस् भनेर हामीले यसो गरेका हौँ,' लिम्बूले भने । यति गर्दा पनि सम्बन्धित निकायले ध्यान नदिए रंगशालामा पोखरी बनाएर माछा पाल्ने उनले बताए । टुनामुना गर्ने, जादु देखाउने, योगशिविर गर्ने, ओम् नमः शिवायः भन्दै यज्ञ गर्ने, जिन्दावाद र मुर्दावाद भन्दै भाषण गर्ने, व्यापारका लागि प्रदर्शनी गर्ने कार्यक्रम बढे पनि खेलकुदका कार्यक्रम बन्द भएपछि आक्रोशित खेलाडीले रंगशालामा विभिन्न जातका अन्न रोपे!

source:nayapatrika