बलिउड नायक राहुल रोयले नेपाली फिल्म निर्माण गर्ने बताएका छन् । भारतमा इ-टिकेटिङको काम गर्दै आइरहेको वान स्टप सप कम्पनीले नायिका उषा पौडेललाई नेपालका लागि आफ्नो कम्पनीको ब्रान्ड एम्बेसडर घोषणा गर्न राजधानीमा मंगलबार आयोजना गरेको कार्यक्रममा नायक राहुलले अपि्रलदेखि फिल्म निर्माण सुरु हुने बताए । महेश भट्टको आशिकी फिल्मबाट बलिउडमा प्रवेश गरेका राहुल एक समयका सर्वाधिक चर्चित नायकमा पर्छन् । वान स्टप सपका ब्रान्ड एम्बेसडर तथा को-प्रमोटरसमेत रहेका बिगबोस विजेता राहुलले आफू नेपाली फिल्म निर्माणमा निकै उत्सुक भएको बताउँदै यसअघि नेपाल आउँदा केही नेपाली फिल्मकर्मीलाई आफ्नो इच्छा जाहेर गरी आफ्नो फोन नम्बर तथा इमेल एड्रेससमेत छाडेको स्मरण गरे । उनले भने, 'तर कसैले पनि मलाई फोन, मेल गरेनन् । मैले त सिरियसली भनेको थिएँ ।'वान स्टप सपमार्फत बन्ने सो फिल्ममा आफू स्वयम् र नायिका उषा पौडेल प्रमुख भूमिकामा रहने राहुलले बताए । फिल्मका अन्य कलाकार तथा प्राविधिक पनि नेपाली नै रहने जानकारी दिँदै उनले भने, 'यहाँका लोकल ट्यालेन्टलाई लिन्छौँ । पूरै फिल्म नेपालमै सुटिङ गर्छाैं ।'नायिका उषाले मल्टी नेसनल कम्पनीको ब्रान्ड एम्बेसडर हुन पाउँदा आफूलाई निकै खुसी लागेको बताइन् । राहुलसँग फिल्म खेल्न पाउँदा पुलकित भएको बताउँदै उनले भनिन्, 'सात-आठ वर्षको बच्चैमा उहाँको फिल्म हेरेकी थिएँ । अब सँगै काम गर्ने मौका पाउँदै छु, निकै खुसी छु ।'वान स्टप सप रिटेल्स -नेपाल) प्रालिले उनलाई एक वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । अभिनयसँगै आफू सो कम्पनीको प्रमोसनमा लागिपर्ने उषाले बताइन् । फिल्ममा उनको भूमिका कस्तो छ, त्यो भने अहिले नै निश्चय भइसकेको छैन ।'अहिले त घोषणा मात्रै हो । कथावस्तु, गीत पछि तयार हुन्छ,' उषाले भनिन्, 'फिल्म पूर्ण व्यावसायिक बन्ने भनिएको छ ।'
नायक राहुलले आफू नेपाल र नेपालीप्रति निकै आस्थावान् भएको बताए । 'म यहाँ व्यवसायसँगै कलाकारिता पनि गर्न चाहन्छु । त्यसकै लागि फिल्म निर्माण गर्ने भएको हुँ,' उनले भने, 'तपाईंहरूको माया, बोलावट पाए म जतिवेला पनि उपस्थित हुन तयार छु ।'राहुलको भावना बुझेर नायिका उषाले उनलाई बुधबार आयोजना हुन लागेको फिल्म एवार्डमा उपस्थित हुनका लागि निम्तो गरिन् । राहुलले आफू सो एवार्ड समारोहमा उपस्थित हुन तयार रहेको बताए ।
source:nayapatrika