अब वार्ता दिल्लीसँग : दाहाल :

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस, नेकपा एमालेसहित सरकारसँगको वार्ता असफल हुँदै गएकाले अब वार्ता सीधै भारतसँग गरिने बताएका छन्। दलसँगको वार्ता पटक-पटक दिल्लीको मुख हेरेर रोकिने गरेकाले अब भारतसँग वार्ता गर्नुको विकल्प नभएको भनाइ अध्यक्ष दाहालले आमसभामा व्यक्त गरे।'कांग्रेससँग कुरा गर्‍यो, केही आउँदैन। एमालेसँग कुरा गर्‍यो केही आउँदैन। प्रधानमन्त्रीसँग कुरा गर्‍यो, केही हुँदैन।' अध्यक्ष दाहालले भने, ' जसरी ज्ञानेन्द्रको शासनकालमा प्रतिगमन आधा सच्चियो भनी सरकारमा जानेहरुलाई हामीले नोकरसित हैन मालिकसित वार्ता हुन्छ भनेका थियौँ, त्यसैगरी अब कठपुतलीहरुसँग हैन, भारतसँगै वार्ता हुन्छ। हामी भारतसँग वार्ता गर्न तयार छौं। '
प्रधानसेनापति प्रकरणमा राजीनामा दिएपछि 'विदेशी प्रभु'को बारेमा उल्लेख गरेका दाहालले भारतको नामै किटेको यो पहिलो अवसर हो।'विगतमा जस्तो कठपुतली सरकार बनाएर आफूले जे भन्यो त्यही मान्ने बनाउने कुरा अब टुंगिएको छ' दाहालले थपे - 'हामी वार्ता गर्न तयार छौं तर भारतसँग। यहाँ वार्ता गर्दा दिल्लीको निर्णयलाई नै कुर्ने प्रयास हुन्छ।'कालापानीबाट भारतीय सेना हट्नु पर्ने, सबै ठाउँका सीमा समस्या समाधान हुनुपर्ने, अन्तर्राष्ट्रिय मान्यताका अनुसार याँ पारवाहन सन्धि हुनुपर्ने जस्ता माग उनले नयाँ बानेश्वरको आमसभाबाट गरे।नेपाललाई रोबोटद्वारा चलाउने सपना कसैले देखेको छ भने, त्यो युग अन्त भइसक्यो,' अध्यक्ष दाहालले भने, 'माओवादीलाई घुँडा टेकाउने प्रयास कसैले गरेमा त्योसँग लड्न माओवादी तयार छ।'भारतका सेनापति दीपक कपुरले नेपालका प्रधानसेनापति छत्रमानसिंह गुरुङसितको भेटमा शान्ति सम्झौताविरुद्ध सेना समायोजनविरुद्ध बोलेकोमा आक्रोशित हुँदै अध्यक्ष दाहालले भने, 'भारतको सेनापतिले नेपालको विस्तृत शान्ति सम्झौताविपरीत सार्वजनिक रुपमा बोल्न मिल्छ ? के ऊ नेपालको गभर्नर हो?'आमसभामा माओवादी अध्यक्ष दाहालले चौथो चरणको आन्दोलनको घोषणा गर्दै पुस १० गतेदेखि माघ १० गतेसम्म राष्ट्रिय जागरण र भन्डाफोर अभियानको घोषणा गरे। उनले माघ १० गतेसम्म पनि राष्ट्रपतिको असंवैधानिक कदम सच्याउने र राष्ट्रिय सरकार बनाउने तर्फ सोचेनन् भने माघ १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने बताए। 'इतिहासका महान परिवर्तन सडकबाट हुन्छ। हामी युद्धमा जाँदैनौं। सडकबाटै निकास खोलिनेछ,' दाहालले भने।चौथो चरणको एक महिने आन्दोलनका क्रममा सेना, प्रहरीलगायत सबै नेपालीले आफू राष्ट्रियताको पक्षमा कि विदेशी दलालको पक्षमा भनेर सोच्नुपर्ने अवस्था आएको दाहालले बताए। नले संविधानसभाले आगामी जेठ १४ गतेसम्म संविधान बनाउन नसके पनि संविधानसभा विघटन नहुने भन्दै राष्ट्रपति शासनलागू गर्ने सपना नदेख्‍न चुनौति दिए। सभालाई सम्बोधन गर्दै माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले सुगौली सन्धिदेखि सन् १९५० को सन्धि नसच्चिएसम्म नेपाल सार्वभौम सम्पन्न हुन नसक्ने बताए। 'अब आवश्यक पर्‍यो भने लेण्डुप पथविरुद्ध लड्न तयार छौं। हामी देशभित्रका दलालसँग मात्र होइन, उनका विदेशी प्रभुसँग लड्नुपर्ने अवस्था आउँदैछ। त्यस युद्धमा लामवद्ध हुन जनतालाई अनुरोध छ,' नेता भट्टराईले भने।'रायमाझी आयोगले दोषी ठहर्‍याएकालाई जनताले छानी छानी कारबाही गर्नेछ,' भट्टराईले बताए। उनले आन्दोलनलाई शान्तिपूर्ण बनाउन सहयोग गरेकामा प्रहरीलाई धन्यवाद दिए। उनले आगामी आन्दोलनमा पनि संयम अपनाउन प्रहरीलाई अनुरोध गरे।