माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकार माओवादीका केही नेताहरुको हत्या गर्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।सरकारमा रहेकाहरुले यसरी नै षडयन्त्र गरिरहे भने पूर्वराजा ज्ञानेन्द्र शाहको भन्दा पनि खराव हालतमा पुर्याइने दावीसमेत गरेका छन् । 'सरकारमा बसेकाहरु थप षडयन्त्रको तानावाना बुनिरहेका छन्' दिनेश श्रेष्ठले संयोजन गरेको 'जनयुद्धदेखि शान्ति सम्झौतासम्म' नामक फोटो प्रदर्शनीको उद्घाटनमा शुत्रबार उनले भने, 'केही माओवादी नेताहरुको हत्याको षडयन्त्र भइरहेको छ ।'कैलालीको डुडेझारी काण्डपछि राजनीतिक सहमतिको प्रयास भइरहेको बेला पुनः माओवादी अध्यक्ष दाहाल आक्रमक रुपमा प्रस्तुत भएका हुन् । प्रधानमन्त्री माधवकुमार नेपालको पहलमा सहमति खोज्नका लागि दलहरुबीच दुई पक्षीय र बहुपक्षीय छलफल जारी छ ।'अहिले मुलुकलाई फेरी पनि युद्धमा धकेल्ने षडयन्त्र गरिंदैछ, २०४८/४९ सालमा जे भएको थियो, त्यही घट्नाक्रमहरु दोहोरिंदैछ' उनले भने, 'तर, अव हामी कसैलाई छाड्नेवाला छैनौं, षडयन्त्रकारीलाई लखेटिनेछ ।'माओवादीले एउटा पनि बन्दुक नभएको अबस्थामा 'जनयुद्ध' सुरु गरेको उल्लेख गर्दै अहिले माओवादीको अबस्था फरक रहेकोसमेत उल्लेख गरे । 'अहिले हामीसंग, लाखौं जनता, हजारौं कार्यकर्ता, सयौं कमाण्डर र हतियार छ' उनले भने, 'कसैले षडयन्त्र गर्छ भने उसको हालत ज्ञानेन्द्रको भन्दा पनि खराव हुन्छ ।'
source:kantipur