कसले गर्‍यो कोइरालाको किर्ते हस्ताक्षर ? :

संविधानसभा हाजिरीपुस्तिकामा कांग्रेस सभापति तथा सभासद् गिरिजाप्रसाद कोइरालाको किर्ते हस्ताक्षर गरिएको भेटिएको छ । ६ सय एक सभासद्कै हस्ताक्षरको नमुना राखेको संविधानसभा सचिवालय र कोइरालाकै दल कांग्रेसलाई भने हाजिरीपुस्तिकामा नेता कोइरालाको किर्ते हस्ताक्षर गरिएको पत्तै छैन । गत ३ मंसिरमा बसेको संविधानसभा बैठकमा कोइरालाको किर्ते हस्ताक्षर गरिएको नयाँ पत्रिकाले फेलापारेको छ । जब कि, कोइराला त्यस दिन सिंगापुरमा उपचार गराउँदै थिए । गत २८ कात्तिकमा उपचारका लागि सिंगापुर गएका कोइराला ७ मंसिरमा मात्रै स्वदेश फर्किएका थिए ।
संविधानसभामा कोइराला अहिलेसम्म दुई/तीनपटक मात्रै उपस्थित भएका छन् । त्यो पनि गतवर्षका बैठकहरूमा । तर, संविधानसभा सचिवालयले राख्ने सभासद्को हाजिरीपुस्तिकाको रेकर्डअनुसार त सभापति कोइराला संविधानसभाको एउटै बैठकमा पनि उपस्थित देखिँदैनन् । बैठकमा उपस्थित भएर पनि हाजिरीपुस्तिकामा हस्ताक्षर नगर्ने उनी ६ सय एक सभासद्मध्येका एक्ला हुन् । संविधानसभा सचिवालयका कर्मचारीका अनुसार कोइराला संविधानसभाको पहिलो बैठक बसेको गतवर्षको १५ जेठ, राष्ट्रपतिको चुनाव भएको गतवर्षकै ६ साउन र अर्को एक बैठकमा उपस्थित थिए । तर पनि, उनले सचिवालयको हाजिरीपुस्तिकामा हस्ताक्षर गर्ने 'कष्ट' भने गरेनन् । मंसिरमा बसेको संविधानसभा बैठकमा उपस्थित हुन त परै जाओस्, कोइराला बानेश्वरस्थित संविधानसभा भवनसमेत छिरेका छैनन् । फेरि पनि उनको उपस्थिति जनाउन कसले र किन किर्ते हस्ताक्षर गर्‍यो भन्ने कसैलाई थाहा छैन । हाजिरीपुस्तिकामा कोइरालाको किर्ते हस्ताक्षर गरिएको प्रस्ट बुझिन्छ । कोइरालाले हस्ताक्षर गर्दा आफ्नो पूरा नाम लेख्ने गर्छन् । उनको हस्ताक्षरमा गिरिजा प्र. कोइराला लेखेको प्रस्ट देखिन्छ । तर, किर्ते गरिएको हस्ताक्षरमा कोइरालाको पूरा नाम लेखिएको छैन । हस्ताक्षर हेर्दा गिरिजामात्रै लेख्न खोजिएको अनुमानमात्रै लगाउन सकिन्छ । सचिवालय कर्मचारीका अनुसार झुक्किएर वा नियतवश जसरी गरे पनि कुनै सभासद्ले नै कोइरालाको हस्ताक्षर गरेको हुनुपर्छ । किनभने कर्मचारीले हस्ताक्षर गर्ने कुरै भएन, गैरसभासद् हाजिरीपुस्तिका राखेको ठाउँसम्म जानै पाउँदैन । 'हाजिरीपुस्तिका राखेको ठाउँमा सभासद्बाहेक केही कर्मचारी मात्रै हुन्छन् । कर्मचारीले उहाँ (कोइराला) को नाममा हस्ताक्षर गर्ने कुरै भएन, झुक्किएर वा नियतवश जसरी भए पनि कुनै माननीयज्यूबाटै त्यस्तो भएको हुनसक्छ,' सचिवालयका एक कर्मचारीले नयाँ पत्रिकासित भने । हाजिरीपुस्तिकामा कोइरालाको क्रमसंख्या १०६ छ । उनको अगाडि क्रमसंख्या १०५ मा नेपाली जनता दलकी सभासद् गायत्री साहको नाम छ भने पछाडि क्रमसंख्या १०७ मा माओवादी सभासद् गिरिराजमणि पोखरेलको नाम छ । सभासद्द्वय साह र पोखरेल ३ मंसिरको बैठकमा उपस्थित देखिँदैनन् । हाजिरीपुस्तिकामा त्यस दिन दुवैजनाको हस्ताक्षर छैन । संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले कोइरालाको किर्ते हस्ताक्षर गरिएको बारेमा आफूलाई जानकारी नभएको बताए । 'यससम्बन्धमा मलाई जानकारी छैन, त्यसो त नहुनपर्ने हो,' प्रवक्ता शर्माले नयाँ पत्रिकासित भने । किर्ते हस्ताक्षर गरिएको पाइए सचिवालयले गम्भीरतापूर्वक छानबिन गर्ने उनले बताए । कोइरालाका स्वकीय सचिव शेखर थापाले पनि त्यस सम्बन्धमा कुनै जानकारी नभएको बताए । 'त्यो मिति (३ मंसिर) मा त सभापतिज्यू (कोइराला) सिंगापुरमा हुनुहुन्थ्यो । किर्ते हस्ताक्षर गरिएको बारेमा त हामीलाई केही थाहा छैन,' उनले भने ।
कोइरालाका नाममा किर्ते हस्ताक्षर गरिएको भए कसले र कुन नियतले गर्‍यो भन्ने संविधानसभा सचिवालयले छानबिन गर्नुपर्ने स्वकीय सचिव थापाले बताए ।

source:nayapatrika