एमाले अध्यक्ष झलनाथ खनालले सल्यानमा आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने वाइसिएल कार्यकर्तालाई कुनै हालतमा उम्कन नदिने चेतावनी दिएका छन् । उनले आक्रमणकारीलाई कारबाही गरेरै छाड्ने दाबीसमेत गरे ।
बुधबार नेपालगन्ज रहेका अध्यक्ष खनाल सल्यान घटनाको जानकारी पाउनासाथ आक्रोशित बनेका थिए । सल्यान घटनामा घाइते भई उपचारका लागि कोहलपुर ल्याइएका आफ्ना कार्यकर्तालाई भेटेपछि आक्रोशित खनालले घाइतेसँग आक्रमणकारीका नामसमेत सोधेका थिए । घाइते भेटेर फेरि नेपालगन्ज फर्किएका अध्यक्ष खनालले एमाले पार्टी कार्यालयमा सञ्चारकर्मीलाई भने, 'सल्यानमा हाम्रा कार्यकर्तामाथि हमला गर्ने वाइसिएल कार्यकर्तालाई कारबाही हुन्छ ।' कारबाहीका लागि उनले गृहमन्त्री भीम रावलसँग मोबाइलमा कुराकानी गरेको तथा रावलले आक्रणकारीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको पनि जानकारी दिए । 'सरकारले कुनै हालतमा उनीहरूलाई कारबाही गर्नुपर्छ,' खनालले भने, 'आजै गएर गृहमन्त्रीलाई भेटेरै कारबाहीको पहल गर्छु ।' अध्यक्ष खनालले आफ्ना कार्यकर्तामाथि भएको आक्रमणको विषयलाई लिएर वाइसिएलको माउपार्टी माओवादीसँग कुनै सम्झौता नगर्ने दाबी पनि गरे । विगतमा वाइसिएल र युथफोर्सबीचको भिडन्तलाई दुई पार्टीले सम्झौता गरेर मिलाउने गरिए पनि यसपटक सम्झौता हुन नसक्ने उनको तर्क थियो ।
'यो मुद्दामा कुनै पनि हालतमा सम्झौता हुँदैन,' उनले भने, 'आक्रमणकारीलाई उनीहरूका नेताले पार्टीबाटै निष्कासन गर्नुपर्छ ।' अध्यक्ष खनालले वाइसिएल आक्रमणको कडा शब्दमा निन्दासमेत गरे । 'यो घटना आतंकवादी, हिंस्रक र आततायी हो,' उनले भने । जिल्लाका सयौँ माओवादी एमालेमा प्रवेश गरेकाले हतास मानसिकताले वाइसिएलले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको खनालको दाबी थियो ।
अध्यक्ष खनालले एमाले कसैमाथि आक्रमण नगर्ने, तर कसैले आक्रमण गरे आत्मसुरक्षाका लागि प्रतिकार गर्ने दोहोर्याएका छन् । 'वाइसिएलले आक्रमण गर्छ भने हामी चुप लागेर बस्दैनौँ,' उनको चुनौती थियो । उनले संविधान निर्धारित समयमै बन्ने दाबी गर्दै संविधानसभा विघटन गर्न खोज्ने जुनसुकै तत्त्वलाई उखेलेर फालिनेसमेत दाबी गरे ।
source:nayapatrika