'लड्ने नै भए युद्ध घोषणा गर’ :

काठमाडौं/ एकीकृत माओवादीका केन्द्रीय सदस्य शालिकराम जमरकट्टेलले एमालेलाई युद्ध घोषणा गरेर लड्न आउन चेतावनी दिएका छन् ।
'झलनाथ खनालले आफ्ना कार्यकर्तालाई माओवादीलाई कुखुरीले छप्काउन निर्देशन दिएका छन्, के कांग्रेस र एमाले हामीसँग लड्नै खोजेका हुन् ?' माओवादी मजदुर संगठनका अध्यक्षसमेत रहेका जमरकट्टेलले भने, 'लड्ने नै हो भने युद्धको घोषणा गर, माओवादी लड्न तयार छ ।'
उनले युद्ध लडेर आएको माओवादीलाई फेरि युद्धमा फर्काउन खोजिएको आरोप पनि लगाए । 'युद्ध लडेका सेना क्यान्टोनमेन्टमा राखेको पार्टीलाई कसैले युद्धमा फर्काउन चाहँदैमा ऊ युद्धमा जाँदैन,' मजदुर संगठनले बुधबार आयोजना गरेको र्‍यालीपछि आयोजित कोणसभामा जमरकट्टेलले भने, 'लड्नुपर्‍यो भने हामी आफ्नै योजनामा लड्छौँ ।'
'सरकारको नेतृत्व गरेका पार्टीका अध्यक्षले माओवादी 'काट' भन्दै निर्देेशन दिन मिल्छ ? उनलाई कानुन लाग्दैन,' उनले भने, 'रड बोक्ने हाम्रा साथीलाई समात्ने प्रहरीले झलनाथलाई तत्काल पक्रनुपर्छ ।'
नेता कट्टेलले आक्रोशित हुँदै एमालेलाई छप्काउन मजदुरलाई निर्देशनसमेत दिए । 'म लाखौँ मजदुरलाई एमालेलाई छप्काउन आग्रह गर्छु, म झलनाथ खनालको प्रतिवाद गर्छु,' शान्तिवाटिकामा उभिएर उनले भने, 'उनलाई समातिन्न भने म झोलामा माउजर बोेकेर हिँड्छु ।'

source:nayapatrika