काठमाडौ, २०६६ मंसिर २६ - अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रधानमन्त्री माधबकुमार नेपाललाई पत्र लेखी राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल र नेपाली सेनाले पुर्याएको योगदानको उच्च प्रशंसा गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ६४ औ महासभाका सिलसिलामा गत सेप्टेम्बर २३ मा राष्ट्रपति ओबामा र प्रधानमन्त्री नेपालबीच न्यूयोर्कमा भएको बैठकको स्मरण गर्दै ह्वाईटहाउसले पत्रका साथ तस्वीरसमेत पठाएको हो ।
भेटवार्ताको ठीक एक महिना पछिको मितिमा ओबामाले लेखेको र कान्तिपुरले शुक्रवार प्राप्त गरेको पत्रको विवरणमा शान्ति मिसनका सन्दर्भमा प्रधानमन्त्री नेपालको बिश्लेषण र गम्भीरताबाट आफु प्रभावित भएको उल्लेख छ ।
शान्ति मिसनमा योगदान गर्ने १० प्रमुख राष्ट्रहरुसंग राष्ट्रपति ओबामाले गरेको उच्चस्तरिय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री नेपालले गरेका थिए । ओबामाले आफ्नो पत्रमा उक्त बैठकमा प्रधानमन्त्रीको भूमिकाको प्रशंसा गरेका छन् ।
'राष्ट्रसंघीय शान्ति मिसनले सामना गरिरहेको मुख्य चुनौतिमा तपाईले गर्नुभएको विवेकपुर्ण विश्लेषण, खासगरि समग्र र संयोजित विधि अपनाउनुपर्ने आवश्यक्ताबारेको तपाईको धारणाबाट म ज्यादै प्रभावित छु,' राष्ट्रपति ओबामाले पत्रमा भनेका छन्- 'भेटवार्तामा तपाईले गर्नुभएको प्रस्तावको इमान्दारिता र गम्भीरताबाट म प्रभावित छु । आगामी महिना र वर्षहरूमा जिम्मेवारी निभाउन तपाईसित सूगै काम गर्ने आशा गरेको छु ।'
न्यूयोर्कमा प्रधानमन्त्री नेपाल र ओबामाबीच दुई पटक भेटघाट भएको थियो । राष्ट्रपति ओबामाले आफ्नो रिसेप्सनमा पनि नेपाली प्रधानमन्त्रीलाई महत्व दिएका थिए । प्रधानमन्त्री नेपालले नेपाली वीरताको चिनोका रुपमा गोर्खाली खुकुरी मात्र नभई जलवायु परिवर्तनले हिमाली पर्यावरणमा पारेको नकारात्मक असरको सन्देश दिन ओबामालाई सगरमाथाको चट्टान समेत उपहार दिएका थिए । १० राष्ट्रको बैठककै क्रममा ओबामाले नेपाली उपहार खुकुरीको खोजी गरेका थिए । त्यसैक्रममा ओबामाले नेपाल भ्रमणको चाहना ब्यक्त गरेका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार बिष्णु रिजालले ओबामाको पत्र नेपालका लागि गौरवको विषय भएको बताए । 'यो प्रधानमन्त्री नेपालका लागि मात्र होइन, समग्र नेपालीले पाएको सम्मान हो,' उनले कान्तिपुरसंग भने ।
source:kantipur